देशैभरका स्थानीय तहकाे माेबाईल एप, विद्युतीय भुक्तानी पनि

खबरशाला संवाददाता  |  भदौ २३, २०७७

तुलसीपुर । सरकारले ७ सय ५३ स्थानीय तहका लागि एउटै टेम्पेलेटमा बनेको मोबाइल एप्लिकेसन (एप) सञ्चालनमा ल्याएको छ। 

सूचना प्रविधि विभागका अनुसार सबै स्थानीय तहका लागि एउटै मोबाइल एप सञ्चालनमा ल्याएसँगै यसअघि कायम रहेका छुट्टाछुट्टै एप रद्दको प्रक्रियामा गएका छन्। 

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठका अनुसार एउटै टेम्पेलेटमा बनेको एपमा जोडिने स्थानीय तहको संख्या ४ सय ३३ पुगेको छ। यो एपको प्रयोगबाट सेवाग्राहीले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवा, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाको विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर, सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद गर्न पाउने छन्। 

अब सेवाग्राहीले सेवा वापतको भुक्तानी पनि एपबाटै गर्नसक्ने छन्। एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोर र आईओएस प्रयोगकर्ताले एपस्टोरबाट यो एप डाउनलोड गर्न सक्ने जनाइएको छ। 

यो एपको नाम ‘स्थानीय तहको एप’ (लोकल लेभल) राखिएको छ।

प्रतिक्रिया दिनुहोस