कार्यक्रम फेजआउटकाे निर्णय सच्याउन अनुरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

खबरशाला संवाददाता  |  भदौ १८, २०७७


तुलसीपुर । यसै शैक्षिक सत्रबाट डिप्लोमा भन्दा तलका स्वास्थ्य शिक्षा कार्यक्रम वन्द गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगले गरेको निर्णयप्रति दाङका टेक्निकल ईन्स्टिच्युटहरुले सामुहिकरुपमा असहमति जनाएका छन् । लामो समयदेखि सञ्चालन हुँदै आएका शिक्षालयहरुलाई कुनै पनि विकल्प विना नै वन्द गर्न खोजिएको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएको दाङ्ग टेक्निकल इन्ष्टिच्युटका द्रोण वलीले जानकारी गराए ।


दाङ्गमा सञ्चालन भइरहेका ७ वटा शिक्षालयका प्रमुखहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको पनि वलीले वताए । स्तरोन्नती गर्ने बाटो हुँदाहुँदै एकाएक वन्द गरेर सरकारले हामी माथि अन्याय गरेको छ । ’ उनले भने ।


संयुक्त रुपमा बुझाइएका ज्ञापन पत्रमा शैक्षिक सत्र ०७७÷०७८ को नवीकरणका लागि सिटीईभिटिमा आवश्यक दस्तुर समेत जम्मा गराई सकेको अवस्थामा नवीकरण नगर्दा सरकारले आफ्ना शैक्षिक संस्था खारेजी गर्न खोजेको उल्लेख गरेका छन् । कोरोनाको त्रासले शैक्षिक संस्थाहरु ठप्प भएको समयमा सिटिईभिटिबाट सम्वन्धन प्राप्त प्राविधिक शिक्षालयलाई राहत दिनुको साटो झनै आहत पार्ने काम गरेको ज्ञापन पत्रमा भनिएको छ ।


ज्ञापन पत्र बुझाउँदै सञ्चालकहरुले “डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सिएमए, अनमी ल्याव असिस्टेन्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रम संञ्चालनका लागि शैक्षिक संस्था नवीकरण तथा विद्यार्थी भर्ना प्रक्रियालाई नरोक्न र शैक्षिक संस्था स्तरोन्नतीको प्रक्रियालाई छिटो अगाडी बढाउने बातावरण निर्माण गर्न सम्माननीय प्रधानमन्त्री समक्ष अनुरोध गर्दछौं ।’ प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेका थिए ।

दाङ पोलिटेक्निक ईन्स्टिच्युट तुलसीपुरका विजय बहादुर थापा,तुलसीपुर प्राविधिक शिक्षालय तुलसीपुरका कौसिला खड्का र बगरबावा प्राविधिक शिक्षालय लमहीका राम बहादुर चौधरी लगाएतको उपस्थितिमा सो ज्ञापन पत्र बुझाईएको हो ।

प्रतिक्रिया दिनुहोस