‘भर्चुअल क्लास’ को तयारीमा संस्कृत विश्वविद्यालय

खबरशाला संवाददाता  |  भदौ १५, २०७७  |  ३४४ पटक पढिएको


दाङ, १४ भदौ– कोरोना संक्रमणका बीच कसरी शिक्षालाई निरन्तरता दिने भन्ने बिषयमा नेपाल संस्कृत विश्वविद्यालयले आइतबार अनलाइन पत्रकार भेटघाट आयोजना गरेको छ । पत्रकार भेटघाटमा कोरोना संक्रमणको जोखिमका बीच विश्वविद्यालयमा भैरहेका शैक्षिक तथा प्रबिधि सम्बन्धी कामहरुको जानकारी दिइएको थियो ।


विश्वविद्यालयका उपकुलपति रमेशप्रसाद ढकालले विश्वविद्यालयलाई संकटको बेला कसरी अघि बढाउने भन्ने बिषयमा व्यवस्थित योजना बनाएर काम गरिरहेको बताए । अनलाइन सफ्टवेयर तयार गरी प्राध्यापक, बिद्यार्थी र कर्मचारीहरुलाई प्रबिधिमा जोडेर काम गरिरहेको उनले जानकारी दिए ।
विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले लकडाउनको समयमा पनि अनलाइन पद्धतीको विकास गरी बिद्यार्थीहरुलाई शिक्षा दिइरहेको जानकारी दिए । बिभिन्न बिषयमा अध्ययन अनुसन्धान गरी विश्वविद्यालयलाई समयानुकूल विकास गर्दै लगिरहेको उनले बताए । बिभिन्न क्याम्पसहरुको भौतिक, प्रबिधि र शैक्षिक प्रगतिका लागि भएका कामहरुबारे उनले जानकारी दिए ।


लकडाउनकै बीच गुरुयोजना निर्माण गरी बिभिन्न शैक्षिक तथा भौतिक विकासका कामहरु भैरहेको उनले बताए । संस्कृत विश्वविद्यालयको भौतिक पूर्वाधार उपयोग गरी प्रदेश सरकारसँग समन्वय गरेर बेलझुण्डीमा कोरोना बिशेष अस्पताल सञ्चालन गरेको र अहिलेसम्म निरन्तर सञ्चालन भैरहेको अधिकारीले जानकारी दिए ।


यसैगरी परीक्षा नियन्त्रक निलप्रसाद सापकोटाले परीक्षा नियन्त्रण कार्यालयलाई पनि अनलाइन प्रबिधिमा जोडेर काम गरिरहेको बताए । परीक्षाको नतिजा अनलाइनमा राख्ने काम गरेको उनले जानकारी दिए । कोरोनाको समस्या लम्बिरहेमा परीक्षा कसरी सञ्चालन गर्ने भन्ने बिषयमा छलफल भैरहेको उनले बताए ।


आयुर्वेद अध्ययन संस्थानका डिन डा. सञ्जय पोखरेलले आयुर्वेद शिक्षाको महत्वलाई बढावा दिइरहेको बताए । कोरोनाको समस्यालाई मध्यनजर गरी आयुर्वेदको औषधि उत्पादन र यसको उपयोगिताबारे खोज अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय उपाध्यक्ष अर्जुन गिरी, प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराई र रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले बिभिन्न जिज्ञासा राखेका थिए ।


प्रबिधिविज्ञ दिपेन्द्र पौडेल र गोविन्द पाण्डेले विश्वविद्यालयमा जडान भएका पछिल्ला सूचना प्रबिधिबारे जानकारी गरएका थिए । कार्यक्रमको सहजिकरण विश्वविद्यालयका प्रशासक हिमलाल पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस