काेराेना संक्रमित ३८ हजार ५६१, निधन २२१, डिस्चार्ज २० हजार ८२२

खबरशाला संवाददाता  |  भदौ १४, २०७७

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३७२, ललितपुरका १२, भक्तपुरका ४५, इलामका १, ओखलढुङ्गाका ४, झापाका ११, पाँचथरका १, मोरङका ४९, संखुवासभाका २, सुनसरीका ३३, धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४, सिरहाका २६, काभ्रेका २५, चितवनका ९०, धादिङका ३, मकवानपुरका ९, रामेछापका १, सिन्धुपाल्चोकका २, सिन्धुलीका ५ र कास्कीका ५ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै गोरखाका ५, तनहुँका ४, नवलपरासीका २, बाग्लुङका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका २५, गुल्मीका ६, दाङका ५, नवलपरासीका २१, पाल्पाका ८, प्यूठानका ५, बर्दियाका ६, बाँकेका १४, रुपन्देहीका ६१, अछामका ८, कञ्चनपुरका १, कैलालीका ६, डोटीका ११, दार्चुलाका २ तथा बझाङका ४७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र १० पुरुषको मृत्यु भएको हो।

सुनसरीमा ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष गरी दुई जना, बारामा ४७ वर्षीया महिला, महाेत्तरीमा ६२ वर्षीया महिला तथा ७० र ३५ वर्षीय पुरुष गरी तीन जना, काठमाडाैँमा ७२ वर्षीया महिला, मोरङमा ६२ वर्षीय पुरुष, राैतहटमा ३० वर्षीय पुरुष, ललितपुरमा २९ वर्षीय पुरुष, भक्तपुरमा ६५ वर्षीय पुरुष,  नवलपरासीमा ६२ वर्षीय पुरुष तथा रुपन्देहीमा ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या २० हजार ८ सय २२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ।  गत चौबीस घन्टामा १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ७ सय ९७ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ४२९ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस