सरोकारवालाको एउटै स्वर ‘अब कडा लकडाउन र ठूलो परिमाणमा पिसिआर ’

खबरशाला संवाददाता  |  भदौ ११, २०७७


तुलसीपुर । कोरोना संक्रमण समुदायमा देखिएपछि तुलसीपुरका सरोकारवालाको बैठकले तत्काल लकडाउन गर्न सुझाव दिएका छन् । तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकमा सहभागीहरुले स्थानीय सरकारलाई यस्तो सुझाव दिएका हुन् ।


‘कोरोनाले भयावह अवस्था सृजना गर्दैछ अझै पनि हामीले कडा कदम चाल्न सकेनौ भने गम्भिर मोडमा पुगिन्छ’ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावले वताए । उनले महामारीको समयमा सबैका विचमा एकता आवश्यक भएको भन्दै एकमतले अगाडी वढ्नुपर्ने कुरामा जोड दिए । कडा लकडाउन अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।


कार्यक्रममा सुझाव दिदै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिववहादुर सिंहले जनताबाट लापरबाही बढेको वताउँदै लकडाउन गरेर मात्रै भन्दा पनि त्यसको पालनामा प्रहरीलाई सहयोग गर्न अनुरोध गरे । ‘ लकडाउनका कारण हामीलाई कस्तो असर गर्छ भन्ने बारेमा सबैले सोचेर काम गरौ, प्रहरीले एकतर्फी कारबाही अगाडी वढाएर मात्रै हुँदैन’ उनले अनुरोध गरे ।


समुदायसम्म कोरोना जानु डरलाग्दो अवस्था भएको वताउँदै तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले पिसिआर टेस्ट मात्रै समस्याको समाधान नभएको बताउँदै सातादिनसम्म लकडाउन गर्न आवश्यक भइसकेको वताए ।

‘पिसिआर टेस्ट गरेपनि नतिजा नआउँदासम्म घरमै वस्नुपर्नेमा मानिसहरु समाजमा घुलमिल भएको देखिन्छ, लापरबाही निकै बढेर गएको छ ’ केसीले भने । उनले पिसिआरको नतिजा नआउँदासम्मका लागि अनिवार्यरुपमा होम आइसोलेसनमा वस्नका लागि प्रेरित गर्न सबैलाई अनुरोध समेत गरे ।


तुलसीपुर उपमहानगरपालिकामा ८५ जना स्थानीय र ३० जना ब्यारेकमा बसेका आर्मीमा गरेर १ सय ५ जनामा कोरोना संक्रमण देखिएको उल्लेख गर्दै अन्य निको भएर गएपनि हाल आइसोलेसनमा १७ जना रहेको जानकारी दिए । कोरोनाका बिरामीको संख्या बढ्न सक्ने अवस्था देखिएको वताउँदै प्रादेशिक अस्पताल तुलसीपुरका डाक्टर पदम अधिकारीले संक्रमितलाई कहाँ लैजाने भन्ने कुराका बारेमा तत्काल योजना वनाउन आवश्यक रहेको कुरा वताए ।


मानव अधिकार तथा शान्ती समाजका महासचिव सुशिल वस्नेतले प्रहरी र जनप्रतिनिधिको मुख मात्रै ताक्नु भन्दा पनि सबैले आआफ्नो ठाउँमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । ‘टोल समुहका मानिसहरु परिचालन हुन आवश्यक छ अनि मात्र हामीले सोचजस्तो परिणाम आउँन सक्छ ’ वस्नेतले भने । लकडाउनलाई व्यवस्थित वनाउनुका साथै जनतामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनका लागि पहल गर्न आवश्यक रहेको उनले औल्याए ।

गरप्रमुख घनश्याम पाण्डेले समुदायमा संक्रमण देखिएका सबैको कन्ट्याक्ट टे«सिङ्ग गरिएको बताउँदै पिसिआर टेस्टमा कुनै पनि कमजोरी नगरिने कुरामा जोड दिए । तुलसीपुरलाई लकडाउन गर्नका लागि जिल्लाको संकट व्यवस्थापन समितिमा प्रस्ताव लैजाने उनको भनाई थियो । ‘शुक्रवार वस्ने समितिको बैठकमा प्रस्ताव लगेर सबै पालिकाहरुलाई के गर्ने भन्ने बारेमा निर्णय हुनेछ’ पाण्डेले भने । उनले एक पालिकाले मात्रै लकडाउन गर्ने भन्दा पनि सबै पालिकाहरुले गर्दा वैज्ञानिक हुने कुरामा जोड दिए ।


तुलसीपुर क्षेत्रका विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको बैठकको सहजिकरण विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस