लमहीमा ब्राउन सुगरसहित तीनजना पक्राउ

खबरशाला संवाददाता  |  भदौ ०, २०७७

तुलसीपुर । दाङ लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । लमही नगरपालिका–२ श्रीगाउँस्थित ड्रिमल्याण्ड होटलबाट उनीहरुलाई सोमवार राति साढे १२ बजेतिर पक्राउ गरिएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षीय शालिकराम सारुमगर, उनकी श्रीमती ३३ बर्षीया पार्वती सारुमगर र सोही ठाउँका ३२ बर्षीय चन्द्रबहादुर बगाले मगर रहेको ५ नं. प्रदेश कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोशाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरुको साथबाट खैरो रङको धुलो पदार्थ ३९ ग्राम र उनीहरुले प्रयोग गर्ने गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी बरामद गरेको छ ।

सोही होटलको माथिल्लो तलाको कोठामा बसिरहेका शालिक राम सारुमगरको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस