भाडा छुट गरेको भन्दै नगरप्रमुखलाई सम्मान

खबरशाला संवाददाता  |  भदौ ०, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा ८० दिन बराबरको घरभाडा छुट गरेको भन्दै तुलसीपुर उद्याेग वाणिज्य स‌घले नगरप्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेको छ । नगरप्रमुखको कार्यकक्षमा सम्मान गर्दै संघका अध्यक्ष विरवहादुर रावतले उपमहानगरपालिकाले भाडा छुट गरेको कुरालाई उदाहरणीय रुपमा लिएर केही अन्य निजी क्षेत्रबाट पनि छुट दिएको बताए ।
“निजी क्षेत्रप्रतिको दायित्व सरकारले पुरा गरेकाप्रति हामी निकै खुसी छौ” निवर्तनमान अध्यक्ष विमल रिजालले जानकारी दिए । उनले संकटको अवस्थामा स्थानीय सरकारले सम्बोधन गर्नुले व्यवसायीमा उत्साह वढेको वताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले राज्यको दायित्व मात्रै आफुले पुरा गरेको वताए । सरकारले अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने भन्दै आफुले त्यो भुमिका जहिल्यै पनि निभाउने उनको भनाई थियो । “तपाईका समस्या सरकारका पनि समस्या हुन् हामी साथ दिन सधै तत्पर छौ” उनले भने । कोभिडको समयमा अफ्ठेरोमा परेकालाई केही राहत होस् भन्नका लागि आफुहरुले निर्णय गरेर भाडा मिनाहा गरेको समेत उनको भनाई थियो । “हामीले भाडा छुट गर्दा अरुलाई पनि आधार होस् भनेर यसो गरेका हौं” उनले वताए ।

प्रतिक्रिया दिनुहोस