काेराेना नियन्त्रणका लागि कमजाेरी सुधार गरेर अघि बढ्न मुख्यमन्त्रीको निर्देशन

खबरशाला संवाददाता  |  भदौ ०८, २०७७

तुलसीपुर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गरेका छन्। 

कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमबार मुख्यमन्त्रीले संवाद गरेका हुन्।

मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको समग्र अवस्थाको जानकारी दिँदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताएका थिए। 

एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकताअनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्रयाक टे्सिङको काम प्रभावकारी बनाउन निर्देशन दिए। 

उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न, लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाइका साथ पालना गराउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

उनका अनुसार भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावत रोक्न र सीमा नाकामा कडाइ गर्न पुनः निर्देशन दिएका छन्। 

साउन २२ गते प्रदेश सिसिएसीको बैठकले कोभिड–१९ को जोखिम बढ्नसक्ने अवस्था मध्यनजर गर्दै  सीमा व्यवस्थापन र नियन्त्रण प्रभावकारी बनाउने र नेपाल–भारतबीचका तोकिएका सीमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थ डेस्क राखी चेकजाँचको प्रभावकारी व्यवस्थासमेत मिलाउने निर्णय गरेको थियो।

उनले प्रमुख जिल्ला अधिकारीहरूलाई कोभिडले सिर्जना गरेको मानवीय त्रास न्यूनीकरण गर्न सञ्चारमाध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्ध अघि बढाउन आग्रह गरे। 

उनले प्रमुख जिल्ला अधिकारीहरूले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ, त्यहींबाट सुधार गरी अघि बढ्न निर्देशन दिए।

प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत भएका काम र समस्या प्रस्तुत गर्दै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरूले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।  

प्रतिक्रिया दिनुहोस