विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

खबरशाला संवाददाता  |  भदौ ०६, २०७७

विश्वभरिमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ। यीमध्ये आधाभन्दा बढी मृतक अमेरिका, ब्राजिल, मेक्सिको र भारतका छन्।

विश्वभर मृतकको संख्या आठ लाख दुई हजार ३६३ पुगेको छ। यी चार देशमा मात्र चार लाख सात हजार ६७७ जनाको मृत्यु भएको छ। गएको २४ घन्टामा अमेरिका र ब्राजिलमा हजारभन्दा बढीको मृत्यु भयो।

शुक्रबार अमेरिकामा एक हजार १६८ जनाको मृत्यु भयो। त्यहाँ अहिलेसम्म एक लाख ७९ हजार १९८ जनाको मृत्यु भइसकेको छ। सक्रिय संक्रमितको संख्या करीब २५ लाख पुगिसकेको छ।

ब्राजिलमा पनि शुक्रबार एक हजार ३१ जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ एक लाख १३ हजार ४५४ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या सात लाख ५२ हजारभन्दा बढी पुगेका छन्।

यता भारतमा शुक्रबार ९५३ जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ ५५ हजार ९२८ जनाको मृत्यु भइसकेको छ। भारतमा भन्दा मेक्सिकोमा मृत्यु हुनेको संख्या धेरै छ। मेक्सिकोमा ५९ हजार १०६ जनाको मृत्यु भएकाृे छ।

शुक्रबार एकै दिन सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका छन्। भारतमा ६९ हजारभन्दा बढी सक्रिय संक्रमित फेला परेका छन्। त्यसपछि अमेरिकामा ५० हजारभन्दा बढी फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस