तुलसीपुर मेट्रो कलेजमा नगरबासीलाई ४० प्रतिशत छुट

खबरशाला संवाददाता  |  भदौ ०५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साँझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउँदै आएको छ ।
आगामी शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी कलेजले मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, कृषि विज्ञान, फुड एण्ड डेरी लगायतका चार विषयमा सम्वन्धन पाएको कलेज सञ्चालक समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

‘स्थानीय सरकारले सञ्चालन गरेको नमुना कलेजका रुपमा हामीले स्थापना गर्न खोजिरहेका छौं’ नगरप्रमुख पाण्डेले भने ।


कलेजमा सबै कार्यक्रमका लागि तीन वर्षको एकमुष्ट १ लाख ५० हजार शिक्षण शुल्क निर्धारण गरिएको छ । ‘निर्धारण गरिएको शुल्कमा अन्य क्षेत्रबाट आउनेलाई २० प्रतिशत र उपमहानगरबासीलाई ४० प्रतिशत छुटको व्यवस्था छ ’ सञ्चालक समिति सदस्य सुर्यबहादुर डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस