तुलसीपुरमा सुरक्षा वढाउँदै टोल सुरक्षा समिति

नन्दनी रोका  |  भदौ ०४, २०७७



तुलसीपुर । गाउँ टोलमा हुने अनैतिक क्रियाकलाप रोकथामका साथै शान्ती सुरक्षा कायम गर्नका लागि तुलसीपुरबा सबै टोलमा टोल सुरक्षा समिति गठन गरिएको छ । आफ्नै पहलमा आफ्नै गाउँठाउँको सुरक्षा गर्ने गरी यस्तो कार्यलाई अगाडी वढाईएको हो । तुलसीपुर उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा १९ वटै वडामा विभिन्न टोल सुरक्षा समिति गठन गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख शिववहादुर सिंहले जानकारी दिए ।


उपमहानगरपालिका भित्रमा ६ सय टोल सुरक्षा समिति गठन गर्ने सोचका साथमा अगाडि वढेको पनि सिंहले वताए । उनका अनुसार अहिलेसम्म विभिन्न ५ सय ४४ वटा टोलमा यस्तो समिति गठन गरिएको छ । एक साताभित्रमा सबै ठाउँमा गठन भइसक्ने पनि उनले वताए । ‘आफ्नो ठाउँको सुरक्षा गर्नु सबैको जिम्मेवारी हो, हामीले नागरीकलाई नै जिम्मेवार वनाउन यस्तो गरेका हौं’ प्रमुख सिंहले भने । उनले वाक्लो बस्ती भएका ठाउँमा केही टोल विकास संस्थालाई मर्ज गरेर यस्तो समिति वनाइएको पनि जानकारी दिए ।


टोल सुरक्षा समिति गठन भएसँगै गाउँठाउँमा हुने विभिन्न खालका आपराधिक घटनामा कमी आएको वडा नम्वर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले जानकारी दिए । ‘पहिलो साना साना घटनामा जानुपथ्र्यो अहिले आफै गाउँठाउँमा मिलाउन थालेका छन् ’ डाँगीले भने । उनका अनुसार समाजमा गलत क्रियाकलाप गर्नेहरुलाई रोक्नका लागि यस्तो समितिले निकै वलियो भुमिका खेलेको छ । जुवातास खेल्ने, जाँड रक्सी खाएर होहल्ला गर्ने र समाजमा असर पर्ने खालका क्रियाकलाप गर्नेहरुलाई रोकथाम गरेको पनि उनले राप्ती समाचारलाई वताए ।


विभिन्न ठाउँमा टोल सुरक्षा समिति गठन हुन थालेपछी अहिले जनतामा उत्साह पलाएको छ । ‘गाउँमा हुने सानातिना घटनाहरुलाई हामीले गाउँमै मिलाउन थालेका छौ’ वडा नम्वर ७ को शिवनगरमा गठन गरिएको टोल सुरक्षा समितिका सदस्य प्रेमचन्द्र गैरेले जानकारी दिए । उनले गलत काम गर्नेहरुलाई सुरक्षा समितिले कारबाही गर्छ भन्ने त्रास रहेको वताए । ‘गाउँमा कसैले गलत गरेपछि हामीलाई फोन आउँन थालेको छ ’ गैरेले थपे ।


सुरक्षा समिति गठन पश्चात जनतामा सुरक्षाप्रति चासो वढेर गएको डिएसपी सिंहले वताए । ‘सुरक्षा कायम गर्नु मेरो पनि दायित्व हो भन्ने खालको जनतामा चासो परेको छ ’ उनले भने । सुरक्षा समिति गठन गरेपछि सानातिना घटनाहरु आउन छाडेको समेत उनले जानकारी गराए । समितिमा महिला र युवाहरुको वढि संलग्नता रहेको समेत वताए । जनतालाई जिम्मेवारी पाएपछि काम गर्ने हौसला वढ्ने भन्दै सकारात्मक नतिजा आएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस