बुबाको अन्तिम सपना टरिगाउँ विमानस्थल

प्रकाश रेग्मी राजन  |  भदौ ०३, २०७७

आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावश्य (औंसी) का दिन पिता दिवस मनाइन्छ । यस दिनलाई बुवा दिवसको रूपमा मनाईन्छ । यस दिन आमाबाबु नहुनेले तीर्थमा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

हामीले पिताजीलाई भौतिक, भावनात्मक, जैविक अनि सपनाका धरोहरका रुपमा हेर्ने गरेका छौं । हाम्रो रगत र सँस्कार प्रदायक पिता सम्पूर्ण रुपमा हाम्रा आदर्श स्मृती हुनुहुन्छ । आज म मेरा पिताजीलाई विशेष प्रसंगमा सम्झन चाहन्छु । जतिबेला म कक्षा नौ मा पढ्दै थिए । आज मलाई त्यतिबेलाको सम्झना आएको छ ।


त्रिभुवन विमानस्थलपछिको अर्थात सम्भवत नेपालकै दोस्रो विमानस्थल दाङ्गको टरिगाऊँ विमानस्थल निर्माण तथा स्थापनामा मेरो पिताजीको बेग्लै योगदान रहेको कुरा स्मरण गर्न चाहन्छु । मेरा पिताजी हामी छोरा छोरी र नाती नातिनालाई सुनाउनु हुन्थ्यो “टरिगाँउ विमानस्थल साना दुले स्थापना र सञ्चालन भएको होइन” । दाङ्गको टरिगाँउ विमानस्थल २०११ सालमा दाङ्ग भमके निवासी समाजसेवी झग्गु प्रसाद शर्माको पहलमा स्थापना र सञ्चालन भएको थियो ।


दाङ्ग तुलसीपुर गोलौरा निवासी मेरा पिता हेमलाल रेग्मीसँग परिचित व्यक्तित्व हुुनुहुन्थ्यो झग्गु प्रसाद शर्मा । बालसखा कै रुपमा परिचित व्यक्तित्व शर्मासँग मेरा पिताजीको सामाजिक विकासमा सहभागीता रहन्थ्यो । तत्कालीन श्री ५ त्रिभुवनसँग राम्रो सम्बन्ध भएका समाजसेवी शर्मा हाम्रो घरमा आउने र बस्ने गर्नुहुन्थ्यो । मेरा पिताजी र शर्मा बीच सामाजिक, राजनीतिक, वैचारिक एवं धार्मीक कुराकानी हुने गरेका थिए ।


म विद्यालयस्तरमा कक्षा नौमा अध्ययनरत रहँदाको त्यो संयोगको संझना अहिले मेरो मानसपटलमा ताजै छ । मेरा पिताजीले व्यक्तित्वलाई परिचित गराँउदै चिनाउनु भएको थियो “उहाँ जग्गुप्रसाद शर्मा, टरिगाऊँ एयरपोर्टमा जहाज बसाउने” । म आश्चर्य चकित हुँदै उहाँको सामुमा गएर जिज्ञासा राखेको थिए कसरी ? उहाँले मलाई भन्नु भएको थियो “बाबु तिमीले नै टरिगाऊँ एयरपोर्टमा जहाज बसाउने अनि उडाउने गर्नुपर्छ।” त्यसको लागि तिमीले धेरै पढ्नुपर्छ ।

अनि म पढ्नु पर्दौरहेछ भनेर आफ्नो गृहकार्यमा व्यस्त भएको थिएँ । म पढ्नमा खासै नराम्रो होईन, विद्यालयस्तरमा टप टेन भित्र नै पर्थे । तर बिडम्बना, पढाईमा हेलचेक्रयाईका कारण म पाईलट बन्न सकिन ।


२००७ सालको परिवर्तनको चारवर्ष पछि २०११ सालमा स्थापित नेपालकै दोस्रो विमानस्थल हो, तत्कालिन दाङ (टरिगाऊँ) विमानस्थल । राणाकालबाट मुक्तशासन व्यवस्था पछि र पंचायती निर्दलीय व्यवस्था स्थापना हुनु पहिलाबाट नै संचालनमा आईरहेको दाङ्ग विमानस्थल निकै चल्तीमा छ । राणा शासनबाट प्रजातान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको नेपालमा जनता केन्द्रित विकास हुनु स्वभाविक मानिन्थ्यो । यसको प्रतिफल हो, तुलसीपुरमा रहेको दाङ्ग विमानस्थल जुन अहिले प्रदेश नं. ५ को राजधानी बनाउने चर्चामा रहेको दाङ्ग जिल्ला र तत्कालीन राप्ती अंचलको सदरमुकाममा अवस्थित छ ।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपनि लामो समयस्थगन भएको एयरपोर्ट पछिल्लो पटक २०७५ असोजबाट हाल दिवँगत भएका मन्त्री रविन्द्र अधिकारीलाई विमानस्थलमै टेन्ट टाँगेर कार्यक्रम गरेको सातादिन मै विमानस्थल सञ्चालनमा आएको थियो । सातामा २ दिन त्यो पनि तुलसीपुरका यात्रु भेटिदैनन् भन्ने सोचले भैरहवामा ट्रान्जिट वनाएर आउने र जाने गर्दथ्यो । तर हालका दिनहरुमा तुलसीपुरमा नै विमान सिधै काठमाडौबाट आउने र जाने गरेको छ ।


दंङ्गाली हवाइजहाज चढ्दैनन भन्ने काठमाडौको भ्रमलाई चिर्दै सातामा दुइदिन जहाजले उडान भर्न थालेको छ । नगरपालिकाको सक्रियतामा विमानस्थल सातै दिन सञ्चालन भएको छ । चाप वढ्दै जाँदा अहिले दैनिक २ पटक विमानसेवा सञ्चालन भइरहेको छ । एकैदिन दुइवटा विमानसञ्चालन हुँदा पनि ३ दिन अगाडि नै टिकट काट्नुपर्ने अवस्था रहेको छ । जसबाट दङ्गालीलाई विमानसेवाको आवश्यकता कति छ भनेर जानकारी हुन्छ ।

हाल दाङ्ग तुलसीपुर विमानस्थलका नामले परिचित विमानस्थल निरन्तर सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ लगायत विभिन्न संघसंस्थाबाट योगदान रहेको छ । तर दुर्भाग्य नयाँ आर्थिक वर्षको २०७७ र ०७८ को वजेटमा विमानस्थललाई कुनै पनि सम्बोधन भएन । बरु बनाउनका लागि वर्षाै समय लाग्ने नारायणपुर विमानस्थललाई मात्रै सम्बोधन गरियो ।
भैरहवा र नेपालगञ्जमा कुहिरो लागेर जहाज चल्न नसक्ने अवस्थामा समेत दाङ्ग तुलसीपुर विमानस्थलबाट उडान गर्न उपयुक्त मानिन्छ । यस्तो उपयुक्त मौसम भएको विमानस्थल अनुपयुक्त मानिनु हुँदैन ।

दाङ्ग तुलसीपुर विमानस्थलमा भर्खरै नयाँ टर्मिनल भवन वनिसकेको छ । विमान नियमितका लागि इन्धनको समस्या छ । २०११ सालदेखि चलिरहेको विमानस्थलको धावनमार्ग उही छ, र हाल इन्धन डिपोको व्यवस्था गर्नुपर्ने भएको छ । यसका लागि काठमाडौं तुलसीपुर जहाज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभामा सदस्य, तुलसीपुर उपमहानगरपालिकाका मेयर, विभिन्न राजनैतिक दलका नेताहरुले समेत आवाज उठाउँदै आएका छन् ।


दाङ उपत्यका सबै भन्दा ठूलो उपत्यका सम्पूर्ण राप्ती अञ्चलकै अन्नभण्डारको रूपमा रहेको छ । साथै दुई ठूला उपमहानगरपालिका रहेको यो उपत्यकामा वाणिज्य केन्द्रहरू समेत विकास भइसकेका छन । खासगरी त्रिभुवननगर र तुलसीपुर, राप्तीका सम्पूर्ण पहाडी क्षेत्रको समेत समन्वय केन्द्र बनेका छन् । नेपालको दोस्रो पुरानो नेपाल संस्कृत विश्वविद्यालय विभिन्न क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका छन् । अस्पताल समेत रहेकाले यो उपत्यका पहाडी क्षेत्रको शिक्षा,स्वास्थ तथा व्यापारीक केन्द्र समेत रहेको छ ।


यस क्षेत्रका कृषक, समाजसेवी, राजनीतिज्ञ लगायतकाहरुको पसिना मात्रै होइन पैसा पनि लगानी भएको थियो । निरन्तर दङ्गालीहरुको लगानीका कारण विमानसेवा सञ्चालन भएको थियो । आजका समयमा यो बिमानस्थल स्थानीय सरकारको बिशेष जिम्मेवारीको विषय बनेको छ । तर प्रदेश र केन्द्र सरकारबाट विमान सञ्चालन नियमित हुन सक्दैन भन्ने कटाक्ष बाहेक केही लगानी छैन ।


मैले सुनेको छु, गणतन्त्रमा जनताको हित अनुसार सरकारी निर्णय हुन्छ भन्ने । सरकारले बिकास निर्माणमा जनताको आवाजको सुनुवाई हुन्छ भन्ने । पूर्वाधार तयार भईसकेको विमानस्थलमा स्तर उन्नतीलाई नै प्राथमिकता दिन्छ भन्ने । तसर्थ आगामी दिनहरुमा ओझेलमा परेको दाङ्ग तुलसीपुर विमानस्थलको विकासको काम अगाडि वढाउनका लागि पहल गर्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस