लापरबाहीकाे हद , चिउँडो र हातमा मास्क

खबरशाला संवाददाता  |  श्रावण ३२, २०७७


तुलसीपुरको मुख्य चोक मानिने विरेन्द्र चोकमा मास्क नलगाएर हिडेका २ जना युवतीलाई देखेपछि प्रहरीले केरकार गरे । कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर स्थानीय प्रशासनले बजारमा हिड्दा मास्क अनिवार्य लगाउने नियम वनाएको छ । उनीहरुलाई प्रहरीले केरकार गरिरहदाँ गोजाबाट मास्क निकाले अनि लगाए । प्रहरीले केहीबेर उनीहरुलाई त्यही राखेर केही कुरा सिकायो अनि पठायो ।


कोरोना संक्रमणको महामारीबाट जोगिनका लागि मास्क अनिवार्य मानिन्छ । कतिपयले यसमा लापरबाही गरेपछि सरकारले नियम नै बनाएर कार्यान्वयनका लागि आग्रह गरेपनि अझै व्यवहारिक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । ‘देखाउँनका लागि नचाहिने ठाउँमा पनि मास्क लगाउँछन् तर चाहिने ठाउँमा भने लगाएको देखिदैन’ विरेन्द्र चोकमा भेटिएका एक युवाले भने । उनले भिडमा फोटो खिच्नेबेलामा मास्क नलगाउँने गरेको देखिने पनि वताए ।


मास्कले धेरै मात्रामा कोरोना संक्रमणबाट जोगाउन सक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख ओमप्रकाश न्यौपानेले वताए । मास्क अनिवार्य गर्नका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको समेत उनको भनाई छ । ‘तर मास्क हातमा, चिउँडोमा लगाउने धेरै देखिन्छ, लगाएका कतिपयले पनि नाक र मुख पुरै छोपिने गरी लगाएका हुँदैनन्’ उनले भने ।


कोरोना संक्रमण फैलने त्रास भएपनि मास्क लगाउँदा के फाइदा हुन्छ भन्ने बारेमा थाहा नहुँदा पनि यस्तो समस्या आउने गरेको तुलसीपुर विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए । उनले विभिन्न माध्यमबाट चेतना जागृत गरेपनि कार्यान्वयन हुन नसकेको वताए ।


मास्क लगाउँदा असजिलो महसुस हुने भएकाले नलगाउँने गरेको तुलसीपुरमा मकै पोलिरहेकी एक वृद्धाले वताइन् । उनले सास फेनै गाह्रो हुने गरेकाले मास्क नलगाउने गरेका वताइन् । ‘पुलिस आएको बेला लगाउँछु नत्र गाली गर्छन’ उनले भनिन् ।


दाङ्गका विभिन्न शहरमा मास्क नलगाउँनेहरुको ठूलो जमात देखिन्छ । चाडपर्वका कारण चारैतिर भिडभाड हुने गरेको र धेरैले मास्क नलगाउने गरेको देखिन्छ । ‘मास्क लगाउने प्रवृत्ति हामी कहाँ निकै कम छ त्यसकारण पनि धेरैले लगाउन गाह्रो मान्ने गरेका छन् ’ स्वास्थ्य प्रमुख न्यौपानेले वताए ।

भिडभाडमा मास्क अनिवार्य लगाउनका लागि चिकित्सकले सुझाएको भएपनि त्यसको कार्यान्वयनमा धेरैले चासो दिने गरेका छैनन् । मास्कको महत्व वुझेकाहरुले नै नलगाएको वजार क्षेत्रमा पुरै देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस