गढवामा तयार भयो सर्पदंश उपचार केन्द्र, अनुमति कुर्दै सेना

खबरशाला संवाददाता  |  श्रावण ३२, २०७७

तुलसीपुर । गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्र तयारी अवस्थामा छ। तर नेपाली सेनालाई २४ घण्टा त्यहाँ रहेर उपचार सेवा सुरु गर्ने अनुमति प्राप्त भइनसकेकाले सेवा सुरु गर्न केही दिन लागेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।

‘सेनालाई एउटा पत्र आएको थियो। दिउँसोमात्रै उपचार सेवा दिन गढवा जाने र अनि फेरि क्याम्प फर्किने। राति पनि बिरामी आउन सक्छन्। २४ घण्टा सेना खट्ने गरी अनुमति फेरि मागिएको छ’, उनले भने, ‘अब केही दिनमा २४ घण्टा सेना खट्ने गरी अनुमति आउँछ। अनी सेवा सुरु हुन्छ।’

गढवा गाउँपालिका वडा नं. ६ स्थित कोइलावास जाने सडकको छेउमै सर्पदंश उपचार केन्द्र बनाइएको हो। उपचारको लागि चाहिने सबै स्वास्थ्य सामाग्री र दुई सय भाईल ‘एन्टी स्नेक भेनम’ औषधि पनि ल्याइएको छ।

गाउँपालिकालको ४० लाखको लागतमा सर्पदंश उपचार केन्द्रको भवन र २७ लाखको लागतमा नेपाली सेना बस्ने घर बनाएको हो।

प्रतिक्रिया दिनुहोस