बढ्दै कोरोना जोखिम, घट्दै सतर्कता

खबरशाला संवाददाता  |  श्रावण ३२, २०७७


तुलसीपुर । कोरोनाको जोखिम उच्च हुँदै गएपछि तुलसीपुर उपमहानगरपालिकामा उपस्थित भएका सरोकारवालाहरुले एकै स्वरमा भने ‘सामाजिक दुरी पनि कायम गरौ, मास्क अनिवार्य गरौ’ सबैको सल्लाहबाट तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिववहादुर सिंहले योजना सुनाए ‘ मास्क लगाउनका लागि सबैलाई अनुरोध गर्ने र अटेर गर्नेलाई १ सय जरिवाना गरेर मास्क दिने’ सबैले सहमत जनाए ।


संक्रमण कम गर्नका लागि प्रहरीले सक्रियता देखाएको महिना दिन हुँदासम्म पनि बजारमा खुलेयाम मास्क नलगाएर हिड्ने चलन उस्तै छ । बाक्लो भिडमा मास्क नलगाउँदा कोरोना सर्न सक्ने सम्भावना धेरै हुने जान्दाजान्दै पनि खुलेआम मास्क नलगाएर हिड्नेको संख्या निकै नै छ ।
कोरोना संक्रमणको पछिल्लो ग्राफ हेर्ने हो भने निकै डरलाग्दो देखिन्छ ।

दैनिक १ जना मानिस कोरोना संक्रमणबाट मरेको तथ्यांक आउँदा पनि सजगताको ग्राफ भने ओरालो लागेको देखिन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालभर १ सय जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने २५ हजार वढि संक्रमित भइसकेका छन् ।


‘पसलमा आएपछि सामान बेच्नै प¥यो अधिकांश मास्क नै नलगाएर आएका हुन्छन् के गर्नु’ तुलसीपुरका एक व्यवसायी शिव घर्तीले भने । उनको फेन्सी कपडाको पसल रहेको छ । लकडाउन खुकुलो हुनु भनेको संक्रमणको जोखिन नहुनु हो भन्ने वुझाईका कारण पनि जनतामा सतर्कता हराउँदै गएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसी वताउँछन् ।
‘तुलसीपुरमा समुदायस्तरमा कोरोना देखिएको छैन किन डराउँने भन्ने पनि सुनिन्छ, तर सबैको चेकजाँच नभएको हुँदा कहाँ भन्न सकिने अवस्था छ र ?’ केसीले भने ।

कन्ट्याक्ट टेसिङ्गमा परेका र स्वाब दिएका समेत खुलेयाम हिड्ने गरेको उनले वताए । ‘हामीकहाँ लापरबाहीको हद छ , सबैले मन लाग्दो गर्न थाल्ने हो भने हाम्रो प्रयासले मात्रै कहाँ सम्भव हुन्छ र ?’ उनले भने ।


फोकलपर्सन केसीका अनुसार समुदायस्तरमा अझै जोखिम हुन सक्ने अवस्था छ । ‘व्यापारीलाई व्यापारको मात्रै चिन्ता छ , यातायात व्यवसायीलाई यातायातको मात्रै चिन्ता छ , विद्यालय सञ्चालकलाई विद्यालय सञ्चालनको मात्रै अनि कसरी हुन्छ त जोखिम कम ?’ उनले प्रश्न गरे ।
दाङ्गमा कतिपय उद्योगहरुमा काम गर्ने भारतीयहरु खुलेआम आउने गरेकाकारण जोखिम बढेको स्विकार्छन तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्री ।

‘हामीले सम्वन्धित उद्योगी र व्यवसायीलाई सजग वनाएका छौँ,’ महासचिव खत्रीले भने । उनले भारतबाट सहजै आउन दिने भएका कारणले गर्दा पनि जोखिम उकालो लाग्न सक्ने वताए ।
सरकारले कतिपय पसल र व्यवसायहरुलाई जोखिमका रुपमा भनेको भएपनि अटेर गरेर सञ्चालन गरेका कारण जोखिमको दर वढ्न सक्ने तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगी वताउँछन् ।

‘नाई पसल, व्युटिपार्लर लगायतका केही संवेदनशिल व्यवसाय समेत खुलेआम सञ्चालन भएका छन्, अनि कसरी हुन्छ त नियन्त्रण’ उनले भने ।


सरकारले सामाजिक दुरी कायम गरेर स्थानीयस्तरमा यातायात सञ्चालनका लागि अनुमति दिएको भएपनि भाडा मात्रै महंगो लिएर भिडभाड हुे गरेको उनले वताए ।


स्थानीयस्तरमा लापरबाही वढेर जान थालेपछि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सार्वजनिक अपिल समेत जारी गर्नुप¥यो । उनले सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्क लगाउँन, स्यानिटाइजर प्रयोग गर्न भन्दै सार्वजनिक अपील गरे ।

‘महामारीको अवस्थामा हामीले अन्य समयमा जस्तो सुविधा खोजेर कहाँ हुन्छ र ?’ उनले प्रतिप्रश्न गरे । संक्रमणका कारण जनताको जीवनयापनमा जटिलता थपिएको भन्दै सबैले साथ दिनुपर्ने उनको भनाई छ ।

भदौ १ बाट नयाँ व्यवस्था
कोरोनाको संक्रमण जोखिम कायमै रहँदा पनि लापरबाही बढेर गएको भन्दै जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले भदौ १ बाट नयाँ व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार साँझ ७ वजेदेखि विहान ५ वजेसम्म आवागमन वन्द गरिएको छ । ‘व्यवसाय, होटल, यातायात लगायतका सबै कुरा वन्द हुनेछन् ’ उनले भने । रातीको समयमा वढि लापरबाही वढ्नुका साथै बाहिरबाट आउनेको समेत संख्या वढेपछि यस्तो नियम लगाइएको हो ।

कोरोनाबाट कसरी बँच्ने ?
१) नियमित साबुनपानीले हात धुने
२) मानिसहरुसँग हात नमिलाउने
३) अनिवार्यरुपमा ३ फीटसम्मको सामाजिक दुरी वनाउने
४) नाक, मुख र आँखालाई पटक–पटक छुने नछुने
५) हाँछ्यु गर्दा रुमालको प्रयोग गर्ने
६) रुघा–खोकी तथा ज्वरोलाई सामान्य नलिने
७) मोबाइललाई सफा गर्ने
८) वाथरुमलाई राम्रोसँग सफा गर्ने
९) हवाई यात्रामा अति सजग रहने
१०) अस्पतालमा खाना खाँदा दही अनिवार्य खाने
११) माक्सको अनिवार्य प्रयोग गर्ने

प्रतिक्रिया दिनुहोस