महामारी र मनपरी

श्रावण ३१, २०७७


विश्वभर कोभिड १९ को महामारीले आक्रान्त वनाएको छ । एकाएक आएको यो महामारीका कारण ज्यान गुमाउनेको संख्या एकातिर उकालो लागिरहेको छ भने अर्कातिर आर्थिक गतिविधि ठप्प भएका कारणले गर्दा विभिन्न क्षेत्रमा नकारात्मक प्रभाव समेत परेको छ । महामारी बाजा वजाएर आउँदैन तर यसले संसारको बाजा भने वजाइदिने गर्दछ ।


कोरोनाले पनि विश्वलाई नै तहसनहस वनाएको छ । सहजै एकबाट अर्कोमा सर्ने मात्रै होइन यसको खोप समेत निर्माण नभएका कारणले गर्दा यसले स्थिति भयावह वनाउँदै लगेको छ । विश्वका शक्ति सम्पन्न देशहरु समेत कोरोनाका कारण थला परेका छन् । अवस्था निकै नाजुक हुँदै गएको छ ।


प्रारम्भमा खासै प्रभाव नपारेको भएपनि पछिल्लो समय यसले भयावह अवस्था सृजना गर्दै लगेको छ । क्वारेन्टाइन भित्र मात्रै रहेको कोरोना संक्रमण अहिले समुदायस्तरमा पनि फैलिएको छ । समुदायमा रहेको कोरोना निकै घातक सिद्ध हुने भएकाले पछिल्लो समय सरकारले रणनीति वदल्दै लगेको छ । समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भएका कारणले गर्दा लकडाउनलाई सरकारले स्थानीय स्तरमा परिमार्जन गरेको छ । स्थानीय प्रभावलाई आँकलन गरेर लकडाउन गर्ने अधिकार अहिले स्थानीय तहमा रहेको छ ।


कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गर्दा स्थानीय जनतामा अझै पनि सचेतना फैलिएको देखिदैन । विभिन्न माध्यमबाट कोरोना जोखिमका बारेमा निरन्तर सूचना प्रवाह गरिएको भएपनि जनताले त्यसलाई खासै महत्व दिएको पाइदैन । बजारमा भिडभाड मात्रै होइन सामान्य सुरक्षा अवस्था समेत पालना गरेको पाईदैन ।

सामान्यतया नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउँने, सामाजिक दुरी पालना गर्ने लगायतका कुरामा ध्यान दिन सकियो भने त्यसले यसबाट जोगिन सकिन्छ । कोरोना महामारी फैलियो पनि भन्ने तर यसबाट सचेत पनि हुन नसक्ने भन्ने कुरा पटक्कै सुहाउँदैन ।


हाम्रो जीवनशैलीमा परिवर्तन गर्न सक्यौ भने कोरोना संक्रमण आफै हराएर जाने देखिन्छ । एक व्यक्तिले मात्रै पनि लापरबाही गर्दा यसले सयौ मान्छेलाई कोरोना सार्न सक्दछ । सचेतना र सतर्कता भन्दा ठूलो औषधि कोरोना संक्रमणको सवालमा केही पनि छैन । यसलाई हामीले तत्काल ख्याल गरेर आफुलाई सचेत राख्ने प्रयत्न गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस