निजी विद्यालयमाथिको गलत नजर

खबरशाला संवाददाता  |  श्रावण ३१, २०७७

नेपालमा २०४९ सालमा शिक्षा ऐन सातौँ संशोधनमार्फत निजी र सार्वजनिक विद्यालय दुवैको प्रावधान खुला गरेपछि निजी विद्यालयहरू खोल्ने क्रमको थालनी भएको पाइन्छ । सुरुवातबाटै निकै उतारचढावका बीच निजी विद्यालयहरू अगाडि बढिरहेका छन् । 

अहिलेको अवस्थामा २ लाखभन्दा धेरै शिक्षक तथा कर्मचारीहरूले रोजगारी पाइरहेको निजी विद्यालयलाई सबैले धारे हातल गाउने गरिरहेका छन् । निजी विद्यालयहरूको शिक्षा क्षेत्रमा निकै धेरै योगदान र लगानी छ । चोकचोक र गल्लीगल्लीमा निजी विद्यालयका विषयमा हरेक दिन नकारत्मक बहस चल्छ । त्यति मात्र होइन, पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायत फेसबुकका भित्ताहरूमा निजी विद्यालयका बारेमा सधैँजसो चल्ने नकारात्मक बहसले साँच्चै नै निजी विद्यालयको कुनै औचित्य नै छैन रहेछ जस्तो आभास हुन्छ । 

तर, गुणस्तरीय शिक्षा दिनका लागि हरहमेसा खटिरहेका निजी विद्यालयहरू आज सबैको आँखाको तारो बनिरहेका छन् । करिव २० लाख अर्थात् लगभग २३ प्रतिशत विद्यार्थीहरूले अध्ययन गरिरहेका निजी विद्यालयहरू, जहाँ सरकारको एक रुपैयाँ पनि प्रत्यक्ष आर्थिक लगानी नभएको ठाउँको नतिजाले सरकारको खर्बौं रुपैयाँको लगानी रहेका विद्यालयहरूलाई गिज्याइरहेको छ ।

यतिबेला कोभिड- १९ का कारणले विद्यालय जानुपर्ने विद्यार्थी भाइबहिनीहरू घरमै थुनिएर बसिरहनुपरेको अवस्थामा करिब ८ हजार संस्थागत विद्यालयहरू पनि सङ्कटग्रस्त हालतमा रहेका छन् । 

८ हजार विद्यालयहरूमा निर्भर रहेका २ लाखभन्दा धेरै शिक्षक तथा कर्मचारीहरू र उनीहरूको कमाइमा आश्रित सबैको दैनिकी नै धरासायी बनेको छ । सबैले सधैँ लुटेरा, सामन्त र शोषकहरूको बिल्ला भिराएका निजी विद्यालय संस्थापकहरू अहिले निकै तनावमा छन् । जुनकुनै सरकारको पनि आँखाको तारो हुने गरेका निजी विद्यालय अब साँच्चै नै तालाचाबी थन्क्याउने अवस्थामा पुगेका छन् । 

यस्तो अवस्थामा लाखौँ शिक्षकहरूको रोजीरोटी पनि गुम्छ र बेरोजगारीको समस्याले उग्र रूप पनि लिन सक्छ, जसको परिणाम पक्कै पनि नमीठो हुन्छ । 

विद्यालयस्तरका निजी शैक्षिक संस्थाहरू मात्र होइन, यतिबेला उच्चशिक्षासम्म पठनपाठन गराउने विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएका कलेजहरू पनि समस्यामा परेका छन् । अधिकतम शुल्क लिने गरेका निजी विद्यालयहरूले अकुत कमाएका छन् भन्दै गर्दा हामीले उनीहरूले प्रदान गर्ने गरेको सोहीअनुसारको भौतिक सुविधा, पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कुराहरूलाई पनि ध्यान दिनुपर्छ र त्यसको लेखाजोखा गर्न सक्ने हैसियत राख्नुपर्छ । सधैँ विरोध गर्ने र गिद्धे नजरले हेर्ने हाम्रो संस्कारलाई हामीले परिवर्तन गर्नुपर्छ । 

आर्थिक लगानी भइसकेपछि निजी क्षेत्रमा मात्र होइन, सरकारीमा पनि नाफा आउनुपर्छ वा कमाउनुपर्छ भन्ने त पक्कै पनि होला । नाफा लिने र लुटतन्त्र मच्चाउने के निजी विद्यालय र शैक्षिक संस्थाहरू मात्र हुन् त ? अन्य निजी व्यवसाय र उद्योगधन्दाहरूले चाहिँ कहिल्यै नाफा खाएनन् त ? 

यहाँ त आफ्नो रगत र पसिना बगाउनेहरूले कमाएको देखियो तर जनताबाट लिएको करमा मोज र मस्ती गरेर कमाउनेहरूलाई कसैले देखेनन् । धेरैजसो निजी विद्यालयहरू घर र जमिन भाडामा लिएर बैंकको ऋणमा चलिरहेका छन् । पक्कै पनि यो लगभग ५ महिनाको निकै असहज अवस्थाले निजी विद्यालयहरू सङ्कटमा परेका छन् । सधैँ गाली मात्र गरेर निरुत्साहित गर्ने भन्दा पनि निजी विद्यालयको योगदानको पनि कहिलेकाहीँ कदर गर्न सिक्नुपर्छ । 

सरकारले सरकारी विद्यालय सुधारका लागि निकै धेरै लगानी गरेको छ । थुप्रै वैदेशिक सहयोगहरू प्राप्त भएका छन् । अझ भनौँ, २०७२ सालको भूकम्पपछि त धेरै सरकारी विद्यालयहरूले काँचुली नै फेरेका छन् । अत्यन्तै राम्रा सुविधा सम्पन्न भवनहरू बनेका छन् तर त्यसको उपयोग भने शून्य छ । 

यसो भन्दै गर्दा देशका विभिन्न भागमा केही त्यस्ता सरकारी विद्यालयहरू छन्, जो यो देशमा मात्र होइन, दक्षिण एसियामै उदाहरणीय छन् । राजनीतिक गन्धका कारण सरकारी विद्यालयमा रहेका अब्बल र क्षमतावान् शिक्षकहरूलाई उचित तरिकाले परिचालन गर्न नसक्दा आज सरकारी विद्यालयको समग्र नतिजा निकै खस्किँदो क्रममा छ । 

सरकारी विद्यालयको क्षमता खस्काउँदै लैजाने र निजीलाई निरुत्साहित गर्दै लैजाने हो भने अबको कही वर्षपछि देशको समग्र शिक्षा क्षेत्र ध्वस्त नहोला भन्न सकिँदैन । 

नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले दिएको योगदानलाई सधैँ गलत नजरले मात्र नहेरी सरकारले पनि सहयोग गर्नुपर्ने देखिन्छ । कहीँ कतै निजीको मनोमानी नै भएको देखिए पनि नियमन गर्ने निकाय छ र राज्य छ भने त्यसलाई विधिवत तवरले नियन्त्रण गर्ने अनि मापदण्ड बनाई पालना भए वा नभएको हेर्ने हो । 

यहाँ त के देखियो भने सरकारी विद्यालय जे जस्तो तरिकाले चले पनि आँखा चिम्लिने र निजीको नाम सुन्नासाथ बुरुक्क १० हात माथि उफ्रिने । निजीको बदनाम र विरोध गरेर होइन, साथ र सहयोग लिएर अगाडि बढ्दा देशको सम्रग शिक्षा एउटा विन्दुमा पुग्ला कि !

अन्त्यमा, निजी विद्यालयहरूले पनि यस माहामारीको बेलामा कमाउने र जमाउने भन्दा पनि चलाउने र चल्ने मात्र कुरालाई प्राथमिकतामा राख्नुपर्छ र सोहीअनुसारको शुल्क अभिभावकहरूसँग लिनुपर्छ ।

चल्न र चलाउनका लागि मात्र शुल्कका लागि अनुरोध गर्दा लुट्न थाल्यो भनेर अभिभावकहरू रिसाउनु भने पक्कै पनि राम्रो होइन । जसरी हामी सबैको दैनिक चुह्लो बल्नुपर्छ, त्यसैगरी निजी विद्यालयमा आश्रितहरू सबैको चुह्लो बल्न पनि त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस