समुदायमा कोरोना संक्रमण देखिएपछि बुटवलमा ५ गतेसम्म लकडाउन

खबरशाला संवाददाता  |  श्रावण २, २०७७

बुटवल– बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबारदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन हुने भएको छ। यो निर्णय साउन २९ गते बिहीबार राती ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुनेछ।

बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

उनका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउने छन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।

सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

‘बुटवलका अधिकांश वडाहरुमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिइसकेको अवस्था भएकाले यो अघिल्लोपटक संघ सरकारले गरेजस्तै कडा हुने लकडाउन हो’, बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले भने, ‘बुटवल बजार क्षेत्रमा समुदायमै संक्रमण फैलिइसकेको छ, यसैले सर्तक हुँदै लकडाउन पालना गर्नका लागि हामी अनुरोध गर्दछौं।’

उनले बुटवल बजार क्षेत्रभित्रै २५ जनाको हाराहारीमा सक्रिय संक्रमित देखापरेकाले बुटवल उपमहानगरपालिकाले कडाईका साथ लकडाउन गर्नुपरेको बताए।

प्रतिक्रिया दिनुहोस