गोंगबु हत्याकाण्ड : फेसबुकमा चिनजानदेखि अवैध सम्बन्धसम्म

खबरशाला संवाददाता  |  श्रावण २७, २०७७

काठमाडौं– साउन २५ गते बिहान ७ बजे ।  काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेसमा  टाउकोबिनाको मानिसको शव भेटियो  ।  शव भेटिएपछि प्रहरीले टाउकोको खोजतलास सुरु गर्‍यो । प्रहरीले टाउको पत्ता लगाउन नसकेपछि कुकुर ल्याएर खोजी कार्य सुरु गर्‍यो । जोजो नामको कुकुरले शव भएको स्थानबाट करिब तीन सय  मिटर पर टाउको र खुट्टा भएको झोला पत्ता लगायो ।  

शवको पहिचान हुन नसक्दा प्रहरीलाई पनि घटना भएको स्थान र घटना घटाउने मानिससम्म पुग्न समस्या भएको थियो ।  साउन २६ गते प्रहरीले शवको फोटो सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गरेपछि शवको सनाखत भयो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका –७ का ४५ वर्षका कृष्णबहादुर बोहोरा भएकाे खुल्यो ।  उनी गोंगबुको एक  होटलमा ८ महिनादेखि बसेको खुल्न आएको  छ । 

प्रेम सम्बन्ध

मृतक बोहोरा र अभियुक्त कल्पना मुडभरी पौडेलबीच सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएको थियो । फेसबुकमा कुरा हुँदै गएपछि दुवै जना घनिष्ट साथी बने । उनीहरुको चिनजान भएको पनि चार वर्ष जति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । चिनजान सामाजिक सञ्जालमा मात्र सीमित रहेन ।  बिस्तारै दुवै जनाबीच  भेटघाट हुन थाल्यो । उनीहरुले  घरमै समेत भेटघाट गर्न थाले । उनीहरुबीचको प्रेम झांगिँदै गयो ।

ब्ल्याक मेल

बोहोराले कल्पनाकाे  फोटो राखेर नक्कली फेसबुक खोले । बाेहाेराले फेसबुकबाट कल्पनालाई  ब्ल्याकमेल गर्न थाले । यसपछि उनीहरुबीच मनमुटाव सुरु भयो । बोहोराले कल्पनालाई  आफूले भनेको मान्नुपर्ने दबाब दिन थाले । कल्पनालाई मानसिक दबाब सहन गाह्रो भयो । उनी बोहोराबाट टाढिने सोच बनाउँदै थिइन् ।

हम्मरले हत्या

कल्पनाले बोहरालाई आफ्नै कोठामा बोलाइन् । बोहोरा बा७२प ५६४४ नम्बरको स्कुटी चढेर कल्पनाकहाँ आए । दही, चिउरा, मासु र भोड्का खान दिइन् । खानामा स्लिपिङ ट्याबलेट  मिसाएकी थिइन्   । जसका कारण बोहोरा खाना आएपछि सुते ।  यही मौकामा कल्पनाले  बोहाेरामाथि हम्मरले हमला गरिन् । कल्पनाले पहिलो प्रहार बोहराको अण्डकोषमा गरेकी थिइन् । उनको रिस त्यतिमा शान्त भएन । उनले बोहोराको घाँटीमा सलले बेरिइन् । बोहोराको मृत्यु भएको यकिन गरिन् । यसपछि उनले बोहोराको शरीर टुक्राटुक्रा पारिन् । शव व्यवस्थापनका लागि बोहोराको शरीर तीन टुक्रा पारेकी थिइन् ।  सुटकेसमा बोहोराको शरीर हालिन् । सुटकेसमा नअटाएपछि  टाउको र खुट्टा अर्को झोलामा हालेर गोंगबुका फरक फरक स्थानमा फ्यालेकी थिइन्  । शव व्यवस्थापनका लागि  १५ वर्षीया छोरीको  सहयोग लिएकी थिइन् ।

चितवन यात्रा

कल्पना  २५ साउनमा चितवन गएकी थिइन । उनी एम्बुलेन्सबाट चितवन पुगेकी थिइन् । एम्बुलेन्स चालक उनले चिनेका मानिस रहेछन् । जसका कारण उनलाई चितवन पुग्न सजिलो भयो । प्रहरीले शवको पहिचान गरेपछि घटनास्थल पत्ता लगाएको थियो । यसपछि प्रहरीले कल्पनालाई चितवनबाट पक्राउ गर्‍यो । ३७ वर्षीया  कल्पना केही टिभी शृंखलामा अभिनय गर्थिन् ।

प्रतिक्रिया दिनुहोस