तुलसीपुरमा राहत शिक्षकको ध्यानाकर्षण

खबरशाला संवाददाता  |  श्रावण २६, २०७७

तुलसीपुर । नेपाल राहत शिक्षक नगर कार्यसमिति तुलसीपुरले राहत शिक्षकका विभिन्न मागहरु राख्दै तुलसीपुर उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

कार्यसमितिका अध्यक्ष मेघराज घिमिरे र सचिव एकराज भण्डारीसहितको टोलीले सोमवार तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतम तथा नगर शिक्षा संयोजक देवराज विश्वकर्मालाई ध्यानकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा तुलसीपुर क्षेत्रका सम्पूर्ण प्रधानाध्यापकको मोवाइलमा सर्कुलर गरी राहत करार शिक्षक, विद्यालय कर्मचारी, सहयोगी कार्यकर्ता तथा कार्यालय सहयोगीको म्यादथप विद्यालय व्यवस्थापन समितिबाट गराइसकेको जानकारी भदौ २ गतेसम्म दिने भन्ने सुचनाप्रति असहमती जनाइएको छ ।

त्यस्तै राहत शिक्षकलाई कनिष्ठ नभनी नियुक्तिका आधारमा पायक पर्ने स्थानमा मात्र दरवन्दी मिलान गर्न पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

साथै राहत शिक्षकलाई पनि योग्यताका आधारमा स्थायी सरह प्रअ नियुक्ति गरिनुपर्ने, राहत शिक्षकलाई पनि हौस्याउनका लागि स्थानीय तहबाट सञ्चयकोषको व्यवस्थापन हुनुपर्ने कुरामा पनि ध्यानाकर्षण गराइएको छ ।

साथै कोभिड—१९ को संक्रमणले निम्त्याएको महामारीमा पनि तुलसीपुरमा कार्यरत राहत शिक्षक समुदायस्तरमै गएर सिकाइका काम पनि गरिरहेको स्मरण गराउंदै त्यस्ता शिक्षकको पिसिआर परीक्षण गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस