प्राध्यापकले गरे क्याम्पस प्रमुखको कक्षमा आगजनी

खबरशाला संवाददाता  |  श्रावण २५, २०७७

तुलसीपुर । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंसिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दीसँगै कुर्सीलगायतका सामग्रीमा आगजनी गरेका छन् ।

विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनको माग गर्दै लामो समयदेखि आन्दोलनमा रहेका आंशिक प्राध्यापकले आइतवार महेन्द्र बहुमुखी क्याम्पस दिवाकर पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै क्याम्पस प्रमुखको कार्यकक्षामा तालाबन्दी गरेका हुन ।

तालाबन्दीपछि क्याम्पसमा रहेका कुर्सी,टेवललगायतका सामग्रीहरुमा आंसिक प्राध्यापकहरुले आगजनी गरेका छन् । लामोसमयसम्म आन्दोलन गर्दा पनि आंसिक प्राध्यापकहरुको माग सम्वोधनका लागि क्याम्पस प्रशासनले चासो नदेखाएपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको आंशिक प्राध्यापक संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिएका छन् ।

‘पहिलो चरणमा क्याम्पस प्रमुखलाई ज्ञापनपत्रसँगै कार्यकक्षामा ताला लगाएको हौै’–उनले भने–‘माग सम्वोधन नभए आर्थिक तथा प्रशासनिक कक्षमा समेत तालाबन्दी गरेर काम ठप्प पर्नेछौ । ’ यसका लागि सहयोग गरिदिन नेपाल प्राध्यापक संघ तथा विद्यार्थीहरुसँग उनले आग्रह गरे ।

राज्य तथा विश्वविद्यालयले पटक–पटक आंशिक प्राध्यापक संघसँग गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग संघले गर्दै आएको छ । विगतमा महेन्द्र बुहुमुखी क्याम्पस प्राध्यापक संघ, आंशिक प्रध्यापक, विद्यार्थी एव कर्मचारीकाबीचमा भएको सहमतिलाई कार्यान्वयनका लागि कुनै पनि प्रक्रिया नथालेको र क्याम्पस प्रशासन खुल्ला हुँदा पनि त्रिविले आंशिक प्रध्यापकलाई हाजिर हुनबाट वञ्चित गरेको भन्दै साउन ११ गतेदेखि आंशिका प्राध्यापकहरु आन्दोलनरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस