आज रोग प्रतिरोधी क्षमता बढाउने क्वाँटी खानेदिन

खबरशाला संवाददाता  |  श्रावण १, २०७७

तुलसीपुर ।  जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गरेकामा यस वर्ष कोरोनाको भयकै कारण उत्सव छैन । 

यस पर्वका अवसरमा केही वर्षअघिसम्म सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल कटौतीमा परेको छ । सार्वजनिक बिदा कटौती गर्दा पर्व मनाउन समय नपुग्ने गरेको कर्मचारी वर्गको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस