ओली प्रचण्डले एक अर्काको आलोचना नगर्ने

खबरशाला संवाददाता  |  श्रावण १८, २०७७

तुलसीपुर : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको आलोचना नगर्ने सहमति गरेका छन्।

आइतबार दुई नेताबीच बालुवाटारमा भएको तीन घन्टा लामो वार्तापछि दुवै अध्यक्षले एकले अर्काको आलोचना नगर्ने सहमतिमा पुगेका हुन्। ‘दुई अध्यक्षबीच एकअर्काको विषयमा आलोचना नगर्ने सहमति भएको छ’, दुई अध्यक्षसँगको वार्तामा सँगै रहेका वरिष्ठ नेता झलनाथ खनालले भने।

पार्टीभित्र नेताहरुबीच आलोचना बढ्न थालेपछि नेकपाको गत भदौ १६ गते बसेको सचिवालय बैठकले अनुशासनको सीमा तोक्दै सार्वजनिक रुपमा गरिने आलोचनाको प्रतिवन्ध लगाउने निर्णय गरेको थियो।

उक्त निर्णयमा पार्टीभित्र अनुशासनको स्तर गिर्दै गएकाले त्यसलाई सुधार्न एक अर्काको आलोचना सार्वजनिक रुपमा गर्नुपरेमा पहिला पार्टीभित्र राख्नुपर्ने उल्लेख थियो। सचिवालयको यो निर्णय शीर्ष नेताहरुले नै पालना गरेका थिएनन्।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक अर्काबीच हुने आरोप प्रत्यारोपको अन्त्य हुनुपर्ने प्रस्ताव अघि सारेका थिए। ओलीबाट यस्तो प्रस्ताव आउने वित्तिकै अर्का अध्यक्ष प्रचण्डले त्यसमा सहमति जनाएका थिए।

एक महिनासम्म प्रचण्ड–ओली आरोप प्रत्यारोपमै

नेकपाभित्रको आन्तरिक विवाद बढ्न थालेपछि पछिल्लो एक महिना दुई अध्यक्षबीच एकले अर्कालाई निकृष्टै रुपममा टिप्पणी गर्ने गरेका थिए। एक व्यक्ति एक पदको माग जोडदारका साथ पार्टीभित्र उठेपछि अध्यक्ष ओलीले गत असार १४ गते भारतको इसारामा आफूलाई प्रधानमन्त्री छोड्नका लागि दबाब दिएको भन्दै प्रचण्ड र माधव नेपालप्रति कटाक्ष गरेका थिए।

उनले भनेका  थिए, ‘तपाइँहरुले पनि सुन्नु भएकै होला प्रधानमन्त्री परिवर्तन गरिँदैछ भन्ने कुरा। कोसिस गर्नेलाई त गर्न दिनू, तर हिजोको जस्तो होइन। कसैले हतारो नगरे पनि हुन्छ र कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ।’

त्यसपछि अध्यक्षद्वय प्रचण्ड र ओलीबीचको दुरी बढ्दै गएको थियो। गत शुक्रबार प्रचण्डले ओलीको सक्रियतामा नेकपा एमाले दर्ता भएकाले उनैबाट पार्टी विभाजनको खतरा रहेको आरोप लगाएका थिए।‘पार्टी संकटमा छ किनकी हाम्रो बैठक चल्दाचल्दै निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको समेत सक्रियता र पहलमा भएको छ,’ उनले भनेका थिए।

यस्तै स्थायी कमिटीको बैठकलाई लिएर पनि दुई अध्यक्षबीच टिकाटिप्पणी भएको थियो। प्रचण्डले ओलीले एकलौटी ढंगबाट स्थगित गरिएको स्थायी कमिटी बैठक विधान विपरीतको कदम भनेका थिए भने ओलीले प्रचण्डको अध्यक्षतामा बसेको बैठकलाई अवैधानिक भनेका थिए।

साक्षी परिवर्तन गरी बसेको बैठक सकारात्मक तर स्थायी कमिटी अनिश्चित

आइतबारको बैठकमा अध्यक्ष ओली र प्रचण्डले साक्षी फेरेका थिए। अध्यक्ष ओलीले स्थायी कमिटी सदस्य  सुवाषचन्द्र नेम्वाङलाई साक्षी राखेका थिए, भने प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी राखेका थिए। यसअघिका बैठकमा ओलीका तर्फबाट प्राय महासचिव विष्णु पौडेल र प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा साक्षी बस्ने गरेका थिए। 

बालुवाटारको बैठकले स्थायी कमिटी बैठकको मिति भने तोक्न सकेन। गत मंगलबार बसेको बहुमत स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीचको सहमतिमा आगामी स्थायी कमिटी बैठकको मिति गर्ने निर्णय गरेको थियो। बैठकमा बामदेव गौतमले अघि सारेका ६ बुँदे प्रस्तावमा छलफल भएको र केन्द्रीय कमिटीको बैठक माग भएकाले के गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा ओली लचिलो बनेको बैठकमा सहभागी नेता खनालले बताए। ‘आजको बैठकमा ६ बुँदे प्रस्तावसहित विविध विषयमा छलफल भयो अध्यक्ष ओली विगतको भन्दा अलि लचिलो देखिनुभएको छ। दुई अध्यक्षबीच छिट्टै सहमति जुट्छ,’ खनालले भने।

आइतबारको बैठकमा प्रस्तावित महाधिवेशनको मिति, विवाद समाधानका लागि आगामी स्थायी कमिटीको बैठक र केन्द्रीय सदस्यहरुले माग गरेको अवस्थामा विधान अनुसार छिट्टै केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सेरोफेरोमा दुई अध्यक्षबीच कुराकानी भएको बैठकमा सहभागी नेताले बताए।

आइतबारको बैठकमा एक अर्काको आलोचना नगर्ने सहमति जनाएका नेताहरुबीच सोमबारपनि छलफल तय भएको छ। सोमबार बिहान ९ बजे बैठकको समय तय भएको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। काठमाडाै प्रेसबाट

प्रतिक्रिया दिनुहोस