अनियमितता गर्ने सबैलाई कारबाही होस्: नगरप्रमुख पाण्डे

श्रावण १७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई स्रोत नखुलेको अस्वाभावि रकम सहित अख्तियारको टोलिले पक्राउ गरेको घटनाप्रति नगर प्रमुख घनश्याम पाण्डेले गम्भिर ध्यानाकर्षण भएको वताएका छन् ।


निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अनुसार काम गरिरहेकोमा अचानक प्रमुख प्रशासकीय अधिकृत जस्तो व्यक्तिबाट स्रोतविहिन मोटो रकम जफत हुनु दुखदायी कुरा भएको समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।


‘राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो । उपमहानगरपालिमा हामी आएको यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।


नगर प्रमुख पाण्डेले यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारबाहीका लागि अनुरोधका साथै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस