खाली हुँदै तुलसीपुरका क्वारेन्टाइन

खबरशाला संवाददाता  |  श्रावण १५, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका क्वारेन्टाइन खाली हुँदै गएका छन् । विभिन्न क्वारेन्टाइनबाट ठूलो संख्यामा मानिसहरु घर गएपछि १ जना महिला सहित अहिले उपमहानगरपालिका भित्रमा १७ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।


तुलसीपुरका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनबाट एकैपटक १ सय १२ जना डिस्चार्ज भएपछि क्वारेन्टाइन खाली हुँदै गएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी गराए । उनका अनुसार बिहिवार डिस्चार्ज हुनेहरुमा मावि कालाखोलाबाट २३, मावि सेन्टरबाट ५९, जनता संस्कृत मावि बिजौरीबाट १३, पेइङ्ग क्वारेन्टाइनबाट १७ जना रहेका छन् ।


१ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी सबैलाई घरमा पठाइएको पनि फोकल पर्सन केसीले जानकारी दिए । क्वारेन्टाइनबाट विदा भएर जानेहरुलाई विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने र शाखा अधिकृत भिमप्रकाश खत्रीले विदाइ गरेका थिए । क्वारेन्टाइनमा सकिएसँगै उपमहानगरपालिकाका विभिन्न समुदायमा गएर पिसिआर जाँच गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस