राेल्पाका यी चार स्थानीय तहमा छैन कोरोना संक्रमण

खबरशाला संवाददाता  |  श्रावण १२, २०७७

तुलसीपुर । रोल्पा जिल्लाका चार वटा स्थानीय तहमा भने अहिलेसम्म संक्रमण प्रवेश गरेको छैन।

रोल्पामा १० वटा स्थानीय तहमध्ये थवाङसहित माडी, त्रिवेणी र सुनछहरी गाउँपालिकामा हालसम्म एक जना पनि संक्रमित नदेखिएका स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भिटु उपाध्यायले जानकारी दिए।

यी बाहेकका बाँकी ६ वटै स्थानीय तहमा कोरोना संक्रमित देखिएको प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यी ६ वटा स्थानीय तहमा १२ साउनसम्म ७३ जना संक्रमित भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी सुनील स्मृति गाउँपालिकामा संक्रमितको संख्या ४४ छ भने रोल्पा नगरपालिकामा २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, लुङग्रीमा ३, गंगादेव, परिवर्तन र रुन्टीगढी गाउँपालिकामा एक/एक जना संक्रमित छन्।

करीब एक हजार नाै सय जनाको पीसीआर परीक्षण गरिएकोमा ७३ जना संक्रमित देखिएका हुन् । संक्रमितमध्ये ४९ जना घर फर्किसकेका छन् भने २३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। 

सुनील स्मृति गाउँपालिकामा भारतबाट आउनेहरु बढी भएको र त्यहीं संक्रमित बढी देखिएको कोरोना सम्बन्धी ‘र्‍यापिड रेस्पोन्स टिम’ का संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले  बताए । उक्त गाउँपालिकामा भारतबाट ६३६ जना फर्किएका थिए।

अहिले पनि भारतबाट फाट्टफुट्ट आउने क्रम भए पनि सबैलाई क्वारेन्टिनमा राखेर जाँच गरेर मात्रै घर पठाउने गरिएको सहायक प्रजिअ केसीले बताए।

फोकल पर्सन उपाध्यायका अनुसार, रोल्पामा हाल १९६ जना क्वारेन्टिनमा छन् । आज (सोमबार) दिउँसो ३ बजेसम्ममा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार २७१ छ । संक्रमितमध्ये ३ हजार ९०३ जना उपचारपछि घर फर्किसकेका छन् भने ३५८ जना उपचाररत छन् । यो प्रदेशमा १० जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस