घाम लागे धुलाे, पानी परे हिलाे

खबरशाला संवाददाता  |  श्रावण १२, २०७७

तुलसीपुर। घाेराही बजारकाे मुख्य चाेकमा जाने बित्तिकै सजग भएर हिड्नुपर्ने हुन्छ । ५ वर्षदेखि यहाँका जनताले याे पिडा भाेगिरहेका छन् । सडक निर्माणले पूर्णता पाउन नसक्दा घोराही बजारकै मुख्यचोकको अवस्था बिजोग छ। 

पिच हुन नसक्दा सडकमा खाल्टाखुल्टी परेका छन्। ती खाल्टाखुल्टीका कारण भएको सडकसमेत उप्कँदै गएको छ। पानी पर्दा सडक हिलाम्य हुन्छ भने घाम लाग्दा धुलाम्य। जसको सोझो असर यात्रु, ड्युटीमा खटिएका प्रहरी र वरपर व्यवसाय गर्ने व्यवसायीलाई परेको छ।

लकडाउनताका सवारीसाधन नचल्दा धुलोबाट बचेका घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही चोकका व्यवसायीले गाडी चलेसँगै पुनः धुलो र हिलोको सास्ती खेप्न थालेका छन्। 

‘गाडीको चापसँगै धुलोको सास्ती त्यतिकै छ,’ घोराहीचोकमा ठेला व्यवसाय गर्दै आएकी सुशीला केसीले भनिन्, ‘यो सास्तीबाट हामीले कहिले मुक्ति पाउन हो ?’ 

सडकको ३० मिटर चौडाइमध्ये उत्तरतिरको १५ मिटर पिच हुन सकेको छैन। 

‘लामो समय भइसक्दा पनि सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलोले हिँड्नै नसकिने हुने गरेको छ,’ उनले भनिन्।

ग्राभेल सडक बिग्रिएर पानी जम्ने सडकसँगै चोक हुँदा चोकमै ड्युटी गर्न समस्या हुने गरेको एक प्रहरीले बताइन्। ‘सडक बिग्रिएर चोकमा खाल्टाखुल्टी मात्रै छन्,’ उनले भनिन्।

घोराहीको तुलसीपुर चोकदेखि पश्चिमतिरको करीब १ सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी आव ०७२÷७३ मा विजय बिल्डर्स निर्माण सेवासँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो। 

१८ महिनामा सक्ने गरी सम्झौता भए पनि अझै सडकले पूर्णता पाउन सकेको छैन। कारण भने अदालतमा गएको ठोकिन्छ।

सम्झौताअनुसार निर्माण पक्षले काम गर्दागर्दै घोराही–१५ घोराही चोकका  सावर्णीबहादुर बस्नेत (हाल निधन भइसकेको) ले ०७३ वैशाख २१ गते तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा मुद्दा दायर गरेका थिए। 

उनले मुद्दा दर्ता गरेको १५ महिनापछि ०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भइरहेको जग्गा बस्नेतको नाममा रहेको भन्दै सडक निर्माणको काम नगन÷नगराउन आदेश दियो। अदालतको आदेशका कारण अझै सडक निर्माण हुन सकेको छैन।

०७४ भदौ महिनादेखि रोकिएको सडक विस्तारको काम अझै अन्योल नै छ। काम सुरु हुने समय यकिन भएको छैन।

उच्च अदालतको फैसला पुनरावेदनका लागि सडक डिभिजन कार्यालय दाङले ०७४ माघ ८ गते सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो। अदालतको आदेशका कारण रोकिएको उक्त सडक अहिले चारलेन सडक आयोजनालाई उक्त सडक हस्तान्तरण गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख नीरज शाक्यले बताए।

शाक्यका अनुसार अब यो सडक चारलेन सडक आयोजनालाई हस्तान्तरण गरिएको छ। निर्माणको काम पनि सोही आयोजनाले गर्नेछ। सर्वाेच्चको फैसला नआउँदासम्म सडक निर्माणले पूर्णता पाउन नसक्ने समेत उनले बताए। आयाेमेलबाट

प्रतिक्रिया दिनुहोस