तुलसीपुरमा घरमै सिकाउन कार्यमुलक पुस्तिका

श्रावण ११, २०७७


तुलसीपुर । कोभिड १९ को संक्रमणका कारण घरमै बसिरहेका बालबालिकाहरुलाई स्वअध्ययन गराउनका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्यमुलक पुस्तिका तयार गरेर वितरण गरेको छ ।

विद्यार्थीहरुलाई घरमै अभिभावकले सिकाउन सक्ने गरी यस्तो पुस्तिका तयार पारेर वितरण गरिएको शिक्षा महाशाखाका शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिए । उनका अनुसार बाल विकास कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो पुस्तक प्रकाशन गरिएको हो ।
कक्षा अनुसार सबै विषयको एउटै पुस्तकमा अध्ययन गर्न सकिने गरी पुस्तक तयार पारिएको पनि उनले जानकारी दिए ।


महाशाखा प्रमुख भाष्कर गौतमले वैकल्पिक सिकाइ विधिका बारेमा अध्ययन गरेर रेडियो, टेलिभिजन लगायतका साधनको पहुँचमा नभएका विद्यार्थीहरुलाई यस्तो पुस्तक वितरण गरिएको जानकारी दिए । ‘उपमहानगरपालिका भित्रका २१ प्रतिशत विद्यार्थीहरुले कुनै पनि वैकल्पिक माध्यमको प्रयोग नगर्ने भएकाले यस्तो पुस्तक वितरण गरिएको हो ’ शाखा प्रमुख भाष्कर गौतमले जानकारी दिए । उनले ५४ विद्यालयका ४ हजार वढि विद्यार्थीहरुलाई यस्तो पुस्तक वितरण गर्न लागिएको पनि जानकारी दिए ।


पुस्तक लगेर अभिभावकले सहजिकरण गरेर पनि पढाउन सकिने खालको भएको वताउँदै गौतमले त्यसै घरमा बसेका बालबालिकाका लागि निकै उपयोगी हुने कुरामा जोड दिए ।
शिक्षा समिति संयोजक देवराज विकले विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा पुस्तक निकै फलदायी सावित हुने भने ।

उनले बालबालिकालाई घरमै बसेर पढ्ने बातावरण सृजना गर्नका लागि रेडियोबाट समेत अध्यापन गराइरहेको जानकारी गराए । शाखा अधिकृत चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालय निरिक्षक मानवहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस