यसकारण सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा कोरोनाको जोखिम बढी

खबरशाला संवाददाता  |  श्रावण १०, २०७७

काठमाडौं- सुर्तीजन्य पदार्थ स्वास्थ्यका निम्ति हानिकारक हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो। त्यसैले पनि चिकित्सकले सुर्तीजन्य पदार्थको सेवन नगर्न सुझाव दिँदै आएका छन्।

विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमणलाई पनि सुर्तीजन्य पदार्थ र धुमपानले बढावा दिन्छ। अर्थात् सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिहरु कोरोना भाइरसको बढी जोखिममा पर्ने चिकित्सक बताउँछन्।

सुर्तीजन्य पदार्थ र धुमपान सेवन गर्ने व्यक्तिहरु कोरोनाको जोखिममा किन बढी पर्छन्? 
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दास भन्छन्, ‘धुमपानले फोक्सोको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ र कोरोनाले पनि श्वासप्रश्वास प्रणालीमा विशेष असर गर्ने भएकाले उनीहरु यसको बढी जोखिममा पर्छन्।’

उनका अनुसार सुर्तीजन्य पदार्थ हरेक रोगका लागि रिस्क फ्याक्टर हो। सुर्तीजन्य पदार्थ र धुमपान गर्ने व्यक्तिका लागि कोरोना भाइरस घातक हुने डा. दास बताउँछन्। उनीहरुमा संक्रमण भइहाले समस्या जटिल हुन सक्ने उनले बताए।

‘सुर्तीजन्य पदार्थ र धुमपान गर्ने व्यक्तिमा कोरोना संक्रमण भइहाले समस्या जटिल हुने संभावना धेरै हुन्छ,’ उनले भने। उनीहरुमा अन्य व्यक्तिको तुलनामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि कम हुने उनले बताए। ती व्यक्तिहरुले झनै बढी सावधानी अपनाउन जरुरी रहेको डा दासकाे भनाई छ।

‘थोरै मात्र संक्रमण भएपनि समस्या गम्भीर हुने जोखिम धेरै हुन्छ,’ उनले भने, ‘उनीहरुले अरुभन्दा पनि बढी सचेत र सावधानी हुन आवश्यक छ। सुर्तीजन्य पदार्थको प्रयोग तत्काल रोक्नुपर्छ।’

वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले धुमपान गर्ने व्यक्तिहरुमा दीर्घ श्वासप्रश्वासको रोग हुने संभावना धेरै हुने बताए। उनका अनुसार दीर्घ श्वासप्रश्वासकाे समस्या हुने व्यक्तिहरुमा कोरोनाको संक्रमण हुने जोखिम धेरै हुन्छ। उनले भने, ‘धुमपानले आफैमा पनि रोगसँग लड्ने क्षमतालाई कम गराई दिन्छ। यस्तो अवस्थामा कोरोनाको संक्रमण हुने संभावना धेरै हुन्छ।’

धुमपान कोरोना संक्रमणका लागि मात्र नभई कुनै पनि छाती रोगका लागि जोखिम कारक तत्व हुने उनले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन कोरोना संक्रमण भएका व्यक्तिले तत्काल सुर्तीजन्य पदार्थ र धुमपान रोक्नु सुझाव दिन्छन्। धुमपान र कोरोना दुवैले फोक्सोमा असर गर्ने भएकाले सचेत रहनुपर्नेमा उनको जोड छ।

उनी भन्छन्, ‘धुमपानले पहिले फोक्सोमा असर गरीसकेको हुन्छ। त्यस्ता व्यक्तिमा सामान्य संक्रमणले पनि समस्या जटिल बनाइदिन सक्छ। त्यसैले बेलैमा सचेत बनौं।’

सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा वर्षेनी ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

सुर्तीजन्य पदार्थ र यसको असरबारे नेपालमै पनि विभिन्न अध्ययन भएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले गरेको एक अध्ययनमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। जसमध्ये १७ दशमलव १ प्रतिशतले चुरोट र १८ दशमलव ३ प्रतिशतले धूवाँ रहीत सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको अध्ययनमा उल्लेख छ।

सर्वेक्षणले महिलाका तुलनामा पुरुषहरु ५ गुणाभन्दा बढी अम्मली रहेको देखाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था हेर्ने हो भने पनि महिलाभन्दा पुरुष बढी छन्। इपिडिमियोलोजी तथा राेग नियन्त्रण महाशाखाका अनुसार नेपालमा दीर्घ श्वासप्रश्वास रोग सिओपिटीका करीब ३४ लाख बिरामी छन्। प्रत्येक १० जनामध्ये एक जना यो रोगबाट प्रभावित छन्।

सुर्तीजन्य पदार्थ र चुरोटको सेवनले कोरोना भाइरस संक्रमणको जोखिम मात्र होइन मुटुरोग, फोक्सोसम्बन्धी रोग, मधुमेह, रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढाउने चिकित्सक बताउँछन्।

प्रतिक्रिया दिनुहोस