प्रदेश ५ मा टिप्पर र ट्रकले धेरै नियम मिचे

खबरशाला संवाददाता  |  श्रावण १०, २०७७

प्रदेश भरमा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै ट्रक रहेका छन्। बितेको आर्थिक वर्षमा ४७ हजार २ सय ७१ वटा ट्रक कारबाहीमा परेका थिए। १२ हजार ५७ वटा बस, १८ हजार ७ सय २९ वटा जिप कार, १२ हजार १ सय ८७ ट्रयाक्टर, २५ हजार ६ सय ३४ मोटरसाइकल र ३ हजार ५ सय ६३ वटा टेम्पो कारबाहीमा परेको विकले बताए।

प्रदेश ५ मा ट्राफिक नियम मिच्नेमा सबैभन्दा बढी ट्रक चालक भेटिएका छन्। 

प्रदेशको ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ लाख ७० हजार ९ सय २७ सवारी साधन कारबाही परेकोमा  ट्रक र टिपर चालकले मात्रै नियम मिचेको घटना ४७ हजार २ सय ७१ वटा छ। 

त्यतिका संख्याका ट्रकलाई प्रदेश ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना लिएको जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) डम्बर बिकले विकासको निर्माण बढेसँगै ट्रक र टिपरको चापमा वृद्धि भएको ती साधनले ट्राफिक नियम बढी उल्लंघन गरेको पाइएको बताए। 

ओभरलोड सामान ढुवानी गर्ने, तीव्र गतिमा चलाउने, उपयुक्त ठाउँमा पार्किङ नगर्ने, आफ्नो लेनमा नहिँडने जस्ता समस्या देखिएको ट्राफिक प्रमुख बिकको भनाइ छ। ट्राफिक नियम मिच्दा र दुर्घटना हुँदा गाडी साहु र आबद्ध कम्पनीले जिम्मेवारी लिने हुँदा पनि ट्रक र टिपरले ट्राफिक नियम बढी उल्लघंन गर्ने गरेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष ०७६/७७ मा सवारी साधन कारबाहीबाट साढे १० करोड राजस्व संकलन गरेको छ। १२ जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश कार्यालयले ट्राफिक नियम मिच्ने सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व उठेको उक्त कार्यालयले जानकारी दिएको छ।

१२ जिल्ला र प्रदेश कार्यालय गरी १३ वटा कार्यालयले चेकजाँच गर्दा १ लाख ७० हजार ९ सय २७ सवारी साधन कारबाही परेका छन्। कारबाहीमा परेका सवारी साधनबाट १० करोड ६१ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व उठेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ। 

प्रदेश कार्यालयले सबैभन्दा धेरै २ करोड ५७ लाख ४० हजार राजस्व संकलन गरेको छ। सबैभन्दा कम रुकुम पूर्वले ५ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाएको छ। 

त्यस्तै प्रदेश कार्यालय पछि धेरै राजस्व संकलन गर्नेमा दाङ जिल्ला छ। दाङमा २ करोड ३० लाख ७३ हजार राजस्व संकलन छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ करोड २९ लाख ६९ हजार, नवलपरासीले ९० हजार २८ हजार ५ सय, कपिलवस्तुले ८८ हजार ६० हजार, पाल्पाले ८३ लाख ७३ हजार ५ सय, बर्दियाले ६५ लाख २ हजार, गुल्मीले ३१ लाख ८९ हजार, अर्घाखाँचीले २९ लाख ९५ हजार, प्युठानले ३६ लाख ४८ हजार ५ सय र रोल्पाले १२ लाख १० हजार ५ सय रुपैया राजस्व संकलन गरेका छन्।

प्रदेश टाफिक प्रहरी प्रमुख डम्बर बिकका अनुसार विभिन्न वर्गका सवारी साधन ट्राफिक नियम विपरीत सञ्चालन भएका कारण कारबाहीमा परेका हुन्। ‘ट्रक, बस, जिप, कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो जस्ता सवारी साधनहरु धेरै कारबाहीमा परेका छन्,’ प्रदेश ट्राफिक प्रहरी प्रमुख बिकले भने।

प्रदेश भरमा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै ट्रक रहेका छन्। बितेको आर्थिक वर्षमा ४७ हजार २ सय ७१ वटा ट्रक कारबाहीमा परेका थिए। १२ हजार ५७ वटा बस, १८ हजार ७ सय २९ वटा जिप÷कार, १२ हजार १ सय ८७ ट्रयाक्टर, २५ हजार ६ सय ३४ मोटरसाइकल र ३ हजार ५ सय ६३ वटा टेम्पो कारबाहीमा परेको विकले बताए।

प्रतिक्रिया दिनुहोस