भदौ १ देखि लामो दूरीका यातायात र विद्यार्थी भर्ना

श्रावण ०६, २०७७

तुलसीपुर । सरकारले लामो दूरीका सार्वजनिक यातायात १ भदौ २०७७ देखि खुला गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा मंगलबार अर्थ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर छोटो तथा लामो दूरीका सवारी साधन चल्न दिने निर्णय सरकारले गरेको हो । यस्तोमा छोटो, मध्यम र अन्तरजिल्ला चल्ने निजी तथा सार्वजनिक सवारी साधन चलाउन पाइने उल्लेख छ।

खतिवडाले भने ‘‘विद्यार्थी भर्ना तथा शैक्षिक तथा अन्य परीक्षा सञ्चालन गर्ने व्यवस्थालाई पनि १ भदौदेखि खुला गर्ने निर्णय भएको छ ।’’ शैक्षिक संस्था खुला भने सरकारले अर्को सूचना जारी नगरेसम्म बन्द नै रहने खतिवडाले बताए।

उनले भने ‘‘शैक्षिक संस्था, विद्यालय, ट्युसन सेन्टर, जिमखाना, सबै प्रकारका भेला, सेमिनार गोष्ठी, मनोरञ्जन स्थल, सिनेमा घर, शैलुङ, समूहमा खेलिने खेल र धार्मिक स्थलहरु ब्युटीपार्लर, पुस्तकालय, संग्रहालय र चिडियाखाना सहितका क्षेत्रलाई भने अझै खुला गरिएको छैन।’’

होटल तथा रेस्टुरेन्ट भने १५ भदौदेखि खुला गर्न दिने निर्णय गरेको हो । होटल रेस्टुरेन्ट खुले पनि सामूहिक भोजसहितका गतिविधि भने गर्न नपाइने उल्लेख छ।

जलयात्रा, ट्रेकिङ, ट्राभल र पर्वतारोहण सम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न दिइने भएको छ । हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय भएको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस