कोरोनाबाट सबैभन्दा धेरै निकाे हुने प्रदेश-५ मा

श्रावण ०६, २०७७

तुलसीपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङ अनुसार प्रदेश–५ मा कोरोना संक्रमणबाट निको हुनेहरूको संख्या अन्य प्रदेशको तुलनामा धेरै देखिएको छ।

५ साउनसम्मको तथ्यांक अनुसार ३ हजार ७७१ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयले मुलुकभर कोरोना भाइरस संक्रमणपछि निको हुनेहरुको संख्या ११ हजार ८६८ भएको जनाएको छ। यीमध्ये प्रदेश-५ मा ३ हजार ७७१ जना निको भएका हुन्।

यसबाहेक प्रदेश-२ मा २ हजार ६९७, सुदूरपश्चिम प्रदेशमा १ हजार ६७१, कर्णाली प्रदेशमा १ हजार ५२२, गण्डकी प्रदेशमा १ हजार ४, प्रदेश-१ मा ७५२ र वागमती प्रदेशमा ४५१ जना कोरोना संक्रमित निको भएका छन्।

मन्त्रालयको यो तथ्यांक अनुसार वागमती प्रदेशमा कोरोना संक्रमणपछि निको हुनेहरूको संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रहेको देखिएको छ।

कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्यामा भने सुदूरपश्चिम प्रदेश अघि देखिएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या सुदूरपश्चिम प्रदेशमा २ हजार ४१८ छ।

यो संख्या अन्य ६ वटा प्रदेशको तुलनामा बढी हो। मुलुकमा अहिलेसम्म कोरोनाका संक्रिय संक्रमित व्यक्तिको संख्या ५ हजार ९३६ छ।

यस अनुसार झण्डै आधा सक्रिय संक्रमितको संख्या सुदूरपश्चिम प्रदेशमा रहेको देखिन्छ।

सुदूरपश्चिम बाहेक कोरोनाका सक्रिय संक्रमितको संख्या प्रदेश-२ मा १ हजार ९३३, प्रदेश-५ मा ४१०, वागमती प्रदेशमा ३९९, गण्डकी प्रदेशमा ३८४, कर्णाली प्रदेशमा २९९ र प्रदेश-१ मा ९३ छ।

प्रतिक्रिया दिनुहोस