दाङमा चाेरीका माेटरसाइकलसहित १४ जना पक्राउ

श्रावण ०४, २०७७

घोराही । प्रहरीले दाङमा चोरीका १० वटा मोटरसाइकलसहित १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चोरी गरिएका र स्वरुप परिवर्तन (मोडिफाई) गरिएका १० वटा मोटरसाईकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् । 

पक्राउ परेका व्यक्तिहरुका साथबाट नक्कली सवारी धनी प्रमाणपत्र र लाइसेन्ससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले बजाज कम्पनीका ७ वटा, केटिएम ड्यूक १ र एउटा यामाहा कम्पनीका मोटरसाईकल बरामद गरेको छ । जसमा रा४प ५८३२ नम्बरको २२० सिसीको पल्सर, रा२प ५०४४ को १५० सिसीको पल्सर, लु४५प ८४७ नम्बरको १५० सिसीको पल्सर, रा४प ६०३९ नम्बर २२० सिसीको पल्सर, रा४प २४६, लु४प ४१११ र एउटा नम्बर नखुलेको मोटरसाईकल बरामद भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिएका हुन् ।

त्यसैगरी बा७६प २९७६ र बा८५प ६१५ नम्बरको केटिएम ड्यूक र रा४प ६२१९ नम्बरको यामाहा कम्पनीको मोटरसाइकलसहित घोराही उपमहानगरपालिका– १३ निवासी १८ वर्षीय संजय परियार, घोराही–१४ का २३ वर्षीय समिर सुनार, सोही ठाउँका २१ वर्षीय सुवास कार्की, सोही ठाउँकै ३५ वर्षीय केन्द्रबहादुर डाँगी, घोराही–१६ का २१ वर्षीय सागर हमाल, घोराही–१७ का २३ वर्षीय निरज योगीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी लमही नगरपालिका–७ निवासी २५ वर्षीय प्रकाश चौधरी, सोही ठाउँ निवासी २५ वर्षीय पाल्टुराम चौधरी, २७ बर्षीय हेमन्त गिरी, २४ वर्षीय धनिराम चौधरी, राजपुर गाउँपालिका–२ बेला निवासी १९ वर्षीय आयोज चौधरी, २२ बर्षीय प्रियतम चौधरी, २७ बर्षीय रविप्रताव यादव र २७ वर्षीय राजकुमार यादवलाई पनि पक्राउ गरिएको डिएसपी सुमित खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस