प्युठानमा ट्रेक्टर पल्टदा एकै गाउँका ६ सहित ७ को मृत्यु

श्रावण ०४, २०७७

दाङ–प्युठानमा ट्रयाक्टर दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु १ त ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकै गाउँका ६ जना र अर्का गाउँका एक जना गरी सात जनाको मृत्यु भएको हो ।

रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ बाईजा निवासी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र बाठा मगर, १० वर्षीय थमन बाठा मगर, गोवर्धन बुढामगर, २५ वर्षीय कविराम बस्नेत, ट्रयाक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको हो ।

ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो । अहिले शव संकलनको काम चलिरहेको स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ का वडा सदस्य विष्णु खनालले जानकारी दिए ।

‘दुर्घटना स्थल अफ्ठेरो ठाउँमा छ । शवहरु एक एक गरी डोरीले बाँधेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम चलिरहेको छ’उनले भने–‘घुम्तीबाट ट्रयाक्टर खोँचमा खसेकाले शव निकाल्न अफ्ठेरो परेको हो ।’

साउने संक्रान्ति मनाउन घर गएका मजदुर काममा फर्कदै थिए । क्याम्पमा नपुग्दै उनीहरु चढेको ट्याक्टर दुर्घटनामा परेको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले शव निकाल्ने काममा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस