नेकपा विभाजन टर्याे: सहमतिमा विवाद टुंग्याउने निर्णय

श्रावण ०३, २०७७

काठमाडौं, – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा शीर्ष नेताहरुबीच थप छलफल गरेर सहमतिकै आधारमा अघि बढ्ने सहमति भएको छ ।  

आज दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको समग्र समस्याको बारेमा सहमतिका आधारमा सम्बोधन गरौँ, सहमतिका आधारमा निकास निकालौं भन्ने भएको छ । आजको छलफल राम्रोसँग भएको तर विवाद समाधान भएको छैन । पार्टी एकताको रक्षा गर्ने र जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने  निष्कर्ष निकालिएको पनि उनले बताए ।

आइतबारका लागि तय भएको स्थायी बैठकमा थप छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो ।  गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगित  हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस