रेडियो कार्यक्रम “म सिक्दै छु” सुरु हुँदै

श्रावण ०३, २०७७

काठमाडौं । कोभिड १९ बाट सिर्जित बन्दाबन्दीका कारण अधिकांश बिद्यालयमा पठन पाठन ठप्प भएको स्थितीमा टिच फर नेपालले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने हेतुले रेडियो कार्यक्रम सन्चालन गर्न लागेको छ । 

नेपालका  ग्रामीण क्षेत्रका सार्वजनिक विद्यालयमा आफ्ना प्रज्ञार्थी  प्रदान गरि सार्वजनिक विद्यालयको गुणस्तर उकास्न र शैक्षिक समता प्रदान गर्दै आएको  टिच फर नेपालले बिहीबार एक कार्यक्रमका बीच “म सिक्दै छु” नामक उक्त रेडियो कार्यक्रम उद्‌घाटन गरेको हो ।

प्रज्ञार्थीहरूले तयार पारेको उक्त कार्यक्रममा अङ्ग्रेजी, विज्ञान, गणित र बाल मनोविज्ञान र अतिरिक्त ॠयाकलापसँग सम्बन्धित कुराहरू प्रसारण गर्ने जानकारी दिएको छ  भने कार्यक्रम आउँदो  सोमबार श्रावन ५ गतेदेखी औपचारिक रुपमा प्रशारण हुनेछ   ।

उक्त रेडियो कार्यक्रममा विद्यार्थीहरूलाई मनपर्ने किसिमबाट सिकाउने हुनाले विद्यार्थीहरूले रेडियो कार्यक्रम रुचाउने कार्यक्रम संयोजक रुमा महर्जन बताउँछिन  । रेडियो कार्यक्रम रेडियो नाटकका रुपमा प्रसारण हुने र एकै अङ्कले कक्षा ५  देखि १० का विद्यार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ। कार्यक्रममा बालबालिकाको लेखन प्रतिभा सुधार र उजागर गराउने आयोजकले बताएका छन् । बन्दाबन्दी अवस्थामा बालबालिकाको मनोविज्ञानमा पनि असर पुग्ने हुँदा मनोबिज्ञान परामर्श बारे जानकारी दिन हप्ताको १ दिन विद्यार्थीका भावना र कथा साट्ने प्रकारका कार्यक्रम पनि समावेश गरिएको महर्जनले  जानकारी दिए ।

“हामी सबै कुरा राम्रो हुने प्रतीक्षा गर्न सक्दैनौं। शिक्षकको हैसियतमा हामीले यो  समय आफ्ना विद्यार्थीहरूसँग सम्पर्कमा रहन र उनीहरूको शिक्षा र मनोसामाजिक आवश्यकताहरूलाई सम्बोधन गर्नुपर्ने दायित्व महसुस गर्‍यौं। ” रेडियो कार्यक्रममा संलग्न टिच फर नेपालका प्रज्ञार्थी  प्रशान्त ज्ञवालीले बताउनुए ।

कार्यक्रमका बारे प्रकाश पार्दै टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले ग्रामीण भेगमा रेडियोको पहुँच बढी देखिएकोले ग्रामीण विद्यार्थीहरूलाई मध्यनजर गर्दै कार्यक्रम तयार पारिएको बताइन् । “लकडाउन को सुरुवाती दिनमा हाम्रा प्रज्ञार्थीहरुले गरेको सर्वेक्षणमा उहाँहरुले काम गर्ने  जिल्लामा करिब ३५.२५% टेलिभिजन रहेको र करिब ६०%  विद्यार्थीको घर घरमा रेडियो भएको थाहा भए पछि यो रेडियो कार्यक्रम गर्नु पर्छ भन्ने प्रज्ञार्थी को सुझावलाई हामीले मनन गरेर रेडियो कार्यक्रम निर्माण गर्ने  निष्कर्षमा हामी पुगेका हौ” उनले वताइन् ।

टिच फर नेपाल कार्यरत ७ जिल्लाका १५ गाउँपालिका र नगरपालिकाका ८ वटा  रेडियोमा प्रसारण हुनेछ । उक्त कार्यक्रम दक्षिण ललितपुर र पर्सामा रेडियो वीरगन्ज, रेडियो विजयवस्ती, सिन्धुपाल्चोकमा रेडियो मेलम्ची, धनुषामा रेडियो जनकपुर, लमजुङमा रेडियो मर्स्याङ्दी, तनहुँमा रेडियो दमौली र दाङमा रेडियो प्रकृतिबाट प्रसारण हुने बताएको छ । कार्यक्रम बारे थप जानकारी कार्यक्रमको फेसबुक पेज (https://www.facebook.com/Masikdaichu/) मा पाउन सकिन्छ ।

कार्यक्रमको पहिलो चरणमा विज्ञान, गणित र अङ्ग्रेजीका आधारभूत कार्यक्रम हुने जनाइएको छ भने उक्त कार्यक्रमले सार्वजनिक विद्यालयमा विद्यमान आधारभूत तहमा देखिएको कमजोरीहरुलाई  एक हद सम्म सम्बोधन गर्ने  जनाइएको छ  ।

रेडियो कार्यक्रम टिच फर नेपालको संयुक्त सहकार्य ब्रिटिश काउन्सिल, मिटिङ पोइन्ट, माई इमोसन्स म्याटर्स, कथा एक्स्प्रेस, रेडियो अडियो र द रेकोर्ड हाउसको प्राविधिक सहयोग मा निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस