दाङमा पर्यटन पूर्वाधारको ५६ प्रतिशत बजेट फ्रिज

श्रावण ०३, २०७७

दाङ । जिल्लामा पर्यटन प्रबद्र्धन तथा विकासमा ५६ प्रतिशत बजेट फ्रिज भएको छ । पर्यटकीय प्रबद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्ये ४४ दशमलव २९ अर्थात ४ करोड ८७ लाख १९ हजार एक सय ९६ रुपैयाँ खर्च भएको जनाएको छ ।

डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा ११ करोड रकममध्ये आधाभन्दा कम ४ करोड मात्रै खर्च भएको जनाएको हो ।

अन्य योजनाहरुमा बजेट खर्च भए पनि घोराही उपमहानगरपालिका–१३ मा रहेको बाह्रकुने दह वहुउद्देश्य पार्क निर्माण र दंगीशरण गाउँपालिकामा कल्चरल पार्क तथा शालिक निर्माणमा बजेट खर्च हुन नसकेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख दीपक ज्ञवालीले बताए ।

लकडाउनका कारण काम गर्न नसक्दा धेरै बजेट फिर्ता भएको उनले बताए । ‘बन्दाबन्दीका कारण यो वर्ष धेरै पूर्वाधार विकासमा काम गर्न सकेका छैनौँ’–प्रमुख ज्ञवालीले भने–‘यो वर्ष पर्यटन क्षेत्रको धेरै बजेट खर्च हुन सकेन ।’

उनका अनुसार चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यीकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्क निर्माणलगायतका काम भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस