बेराेजगारकाे सूचि बनाइदै, कसरी गर्ने दर्ता ?

श्रावण ०१, २०७७

काठमाडौं-  के तपाईँ बेरोजगार हुनुहुन्छ? सीप र दक्षता भएर पनि काम पाउनु भएको छैन ? यदी त्यसो हो भने नजिकैको वडा कार्यालयमा निवेदन दिनुस्।   सरकारले राेजगार दिनका लागि बेराेजगारकाे सूचि बनाउँदैछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि बेरोजगारको सूची तयार गर्न साउन ८ देखि भाद्र ७ गतेसम्म नजिकैको वडा कार्यालयमा निवेदन दिन सार्वजनिक सुचना निकालेको छ।

नयाँ आर्थिक वर्षका लागि चैतमै यो काम सम्पन्न गर्ने व्यवस्था भएपनि कोरोना भाइरसको महामारी र लकडाउनका कारण यसपटक रोकिएको थियो। हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रले बेरोजगारहरुको तथ्यांक संकलन, सुचिकरण र परिचालन गर्दछ।

बेरोजगारका रुपमा दर्ता  हुन के चाहिन्छ ? 

वडा कार्यालयमा बेरोजगारका रुपमा निवेदन दिएर मात्र सुचिकरण भइहालिन्छ भन्ने छैन। रोजगारको हक सम्बन्धी एेन २०७५ ले बेरोजगारका रुपमा दर्ता हुन आवश्यक मापदण्ड तोकेको छ।

त्यसमा बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक वर्षमा न्युनतम एक सय दिन रोजगारमा संलग्न नभएको वा कम्तिमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा नरहेको १८ वर्षदेखि उन्ननसाठी वर्ष उमेर समूहको नागरिक सम्झनुपर्छ भन्ने उल्लेख छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले गत आर्थिक वर्षमा ३ लाख ७० हजारभन्दा बढी मानिस बेरोजगारका रुपमा सूचिकरण भएको बताए। ‘ स्थानीय निकायले तथ्यांक अपडेट गर्दै जाने भएकाले ठ्याक्कै कति जना सूची करण भए भन्न सकिने अवस्था छैन। तर हामीलाई उपलब्ध तथ्यांकअनुसार ३ लाख ७० हजार मानिस सुचिकरण भइसकेको देखिन्छ’, सहसचिव घिमिरेले भने‍।

प्रतिक्रिया दिनुहोस