‘स्वीस बैंकमा प्रधानमन्त्रीको पैसा छ भन्नु दुष्प्रचार ’ सचिवालय

असार ३१, २०७७

काठमाडौं। ‘ग्लोबल वाच एनालाइसिस’ को हवाला दिएर केही नेपाली अनलाइनहरूले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता भएको र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको’ भन्दै गलत र चरित्र हत्या गर्ने गरी झुठा समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै तथ्यहीन सामग्रीलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गराउन खोजिएकोमा खेद जनाएका छन्। 

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्टनै छ’, प्रेस नोटमा भनिएको छ। 

थापाले यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न र पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कारवाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया दिनुहोस