ओलीको अभिव्यक्तिमा राजनीतिक उद्देश्य छैनःपरराष्ट्र मन्त्रालय

असार ३०, २०७७

तुलसीपुर । रामको जन्मस्थल अयोध्या नेपालमा रहेको भन्ने प्रधानमन्त्री केपी ओलीको विवादास्पद अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रालयले प्रष्टोक्ति दिएको छ।

मन्त्रालयले प्रधानमन्त्रीको उक्त भनाइ कुनै राजनीतिक विषयसँग सम्वद्ध नरहेको एवं कसैको भावनामा आघात पुर्याउने उद्देश्य नरहेको मंगलबार जारी वक्तव्यमा उल्लेख गरेको छ।

ओलीले हिजो भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा नेपालको पर्सा, ठोरीमा वास्तविक अयोध्या रहेको भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सत्तारुढ दल भाजपाका नेतादेखि  सञ्चारमाध्यमहरू विरोधमा उत्रेका छन्।

‘श्रीरामका विषयमा विभिन्न कथन रहेको हुँदा प्रधानमन्त्रीले त्यसबारे एवं रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलसँग जोडिने तथ्यहरूबारे थप अध्ययन अनुसन्धानको खाँचोमाथि जोड दिनुभएको हो,’ परराष्ट्रले ओलीको बचाउमा भनेको छ, ‘उहाँका अभिव्यक्तिको उद्देश्य अयोध्याको महत्त्व र यसको सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्नु होइन।’   

प्रतिक्रिया दिनुहोस