शिक्षक रेडियाेमा पढाउने, विद्यार्थी घरमै पढ्ने

असार २८, २०७७

तुलसीपुर । माध्यमिक बिद्यालय सेन्टरमा पढ्ने विनाेद नेपाली बिहान ८ बजे रेडियोको नजिक पुग्छन् । उनको हातमा कापी र कलम हुन्छ । रेडियोबाट अँग्रेजी शिक्षकले पढाएको सुन्दै उनले कापीमा महत्वपूर्ण कुरा टिपोट पनि गर्छन् । ‘घरमा त्यसै वस्नुभन्दा यसले केही नयाँ कुरा सिकाएको छ ।’ उनले भने ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन देशभर लकडाउन भइरहेका बेला विद्यार्थीको पठनपाठनलाई लक्षित गरेर तुलसीपुरले सुरु गरेकाे रेडियो पढाइ कार्यक्रम प्रभावकारी भएको सरोकारवालाले बताएका छन् ।

शिक्षा, युवा तथा खेलकुद विकास शाखाले आयोजना गरेको रेडियो शिक्षा कार्यक्रमको प्रभावकारिता निक्कै भएकाे अभिभावक र विद्यार्थीहरुले बताउने गरेका छन् ।

लकडाउनका कारण अन्य कुनै विकल्प नभएको अवस्थामा रेडियोबाट गरिएको पठनपाठन कार्यक्रमले विद्यार्थीहरूमा पढ्ने बानीको विकास गरेको नगर शिक्षा समितिका सदस्य तथा आधारभुत मावि बेलझुण्डीका प्रधानाध्यापक ढकबहादुर वलीले बताए ।

रेडियोबाट शिक्षा कार्यक्रम संचालन गर्नका लागि शिक्षकहरूबाट भएको तयारी र प्रस्तुति अत्यन्तै प्रशंसनीय एवं उपलब्धिमूलक रहेको गुरुजजुर माविका प्रधानाध्यापक विष्णु केसीले बताइन् ।

विद्यार्थीहरुले घरमै बसेर रेडियो सुनेर आफ्नो पठनपाठनलाई जारी राख्नुका साथै कोरोना भाइरसको त्रासका कारण रेडियोबाट सुरु गरिएको पठाइ कार्यक्रम विद्यार्थीहरुका लागि प्रभावकारी भएको शिक्षक र अभिभावकहरुको प्रतिक्रिया छ ।

सधै विद्यालयमा शिक्षकको निगरानीमा पढ्दै आएका विद्यार्थी अहिले घरमै अभिभावकहरुको निरानीमा पढ्न थालेको र आफ्ना बालबालीकालाई घरमै बसेर पढ्नमा सहयोग पुर्याउदै आएको अभिभावकहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाका ५ वटै रेडियोबाट विहान, दिउँसो र साँझ गरेर तिन पटकसम्म फरक फरक विषय अध्यापन गराइने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भाष्कर गौतमले जानकारी दिए ।

लकडाउनका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भईरहेको अवस्थामा रेडियो पढाइ कार्यक्रम यहाँका विभिन्न शिक्षकहरुले सञ्चालन गर्ने गरेका छन् । लकडाउनकाे समयमा रेडियाेबाट अध्यापक गराउन पाउँदा निक्कै खुसी भएकाे विज्ञान शिक्षक नारायण भट्टराइले बताए । उनले रेडियाे सुनेर विद्यार्थीहरुले धेरै कुरा साेध्ने गरेकाे समेत बताए ।

शिक्षा समितिका सयाेजक देवराज विश्वकर्माका अनुसार कक्षा ६ देखि १० सम्म विभिन्न रेडियाेमा विभाजन गरेर अध्यापन गराउने गरेकाे बताए ।

प्रतिक्रिया दिनुहोस