भारतीय मिडियामाथिकाे बन्देज: मन्त्री खतिवडा

असार २८, २०७७

तुलसीपुर । सरकारले परिस्थिति अनुकूल नहुँदासम्म भारतीय न्युज च्यानलमाथिको बन्देज खोल्न नसकिने स्पष्ट पारेको छ। 

मिडिया सोसाइटीका प्रतिनिधिहरूसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरू नसुध्रिएसम्म बन्देज कायम राख्न सेवा प्रदायकहरूलाई आग्रह गरिएको बताए। सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरूले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन्।

नेपालीहरूको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्युज च्यानलहरू दुराशयपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उनको तर्क छ । ‘‘नेपालले नक्शा अद्यावधिक गरेर जारी गरेको अवस्था छ ।

राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौं। यो नेपालीहरुको एकताबाट तर्सेका पनि हुन सक्छन्,” उनले भने, “एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जुन कुनै पनि मिडियालाई सुहाउँदैन । भारतीय मिडियाहरूको कदमलाई हामीले दुराशयपूर्ण भनेर भनिसकेका छौं। केही च्यानल बन्द भएको अहिलेको अवस्था हो।”

मन्त्री खतिवडाले सेवा प्रदायकहरूले स्वस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाएको भन्दै उनले परिस्थिति अनुकूल भएर ती मिडियाहरू नसुध्रिएसम्म प्रतिबन्ध कायम आग्रह गरिएको बताए।

नेपालले अद्यावधिक नक्शा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन र प्रशारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस