सार्वजनिक यातायात खाेलाैः सरकार, तत्काल खाेल्न सकिदैनः यातायात व्यवसायी

असार २५, २०७७

तुलसीपुर । सरकारले सार्वजनिक यातायात खाेल्ने निर्णय गरेकाे भएपनि व्यवसायीहरुले अहिलेकै अवस्थामा खाेल्न नसकिने वताएका छन् । मुलुककै धेरै बस सञ्चालन गर्ने मध्येको एक पश्चिम नेपाल बस व्यवसायी प्रालिले सरकारले गरेको निर्णय कार्यान्वयन गर्न कठिनाइ हुने तर्क गर्दै तत्काल गाडी चलाउन नसक्ने बताएको छ।

करीब १ हजार बस रहेको सो प्रालिले सरकारको निर्णय व्यवहारिक नभएको भन्दै जिल्ला भित्रमात्रै गाडी सञ्चालन गर्न नसक्ने तर्क गरेको हो।

प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले जिल्लाभित्र मात्रै गाडी चलाउने निर्णय अव्यवहारिक र असान्दर्भिक रहेकाले तत्काल बस चल्न नसक्ने बताए।

‘सरकारले गरेको यो निर्णय सान्दर्भिक छैन’, उनले भने, ‘हामी मातहतका बस तत्काल सञ्चालन गर्न सक्दैनौं, कहिले सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल गरेर मात्रै निर्णय लिन्छौं।’

उनले एक जिल्लाबाट अर्को जिल्ला जान चाहने यात्रुलाई जिल्लाको सीमासम्म लगेर छाड्नुपर्ने गरी सरकारले गरेको निर्णयको व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताए।

‘सरकारले कम्तीमा पनि प्रदेशका राजधानीहरुलाई केन्द्र मानेर प्रदेशभित्र चल्न दिने गरी निर्णय गर्नुपर्थ्यो’, उनले भने, ‘निम्न वर्गका जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र एक जिल्लाबाट अर्को जिल्ला पुग्नुपर्ने यात्रुलाई अलपत्र पार्ने गरी निर्णय भएको छ, यो व्यवहारिक हुँदैन।’

सिद्धार्थ यातायात प्रालिले पनि तत्काल बस चलाउन सक्ने अवस्था नरहेको बताएको छ। गाडी मर्मत र मजदुर आउन समय लाग्ने भएकाले तत्काल गाडी चल्न नसक्ने प्रालिका अध्यक्ष सूर्यबहादुर सारुले बताए।

रुपन्देहीको भैरहवामा प्रधान कार्यालय रहेको सिद्धार्थ यातायात प्रालि अन्तर्गत रहेका २४ वटा गाडी साउनको पहिलो सातादेखि सञ्चालन गर्ने गरी तयारी भैरहेको उनले बताए।

‘अहिले तत्कालै त गाडी चलाउन सकिँदैन, यति लामो समयसम्म नचलाएरै राखेका गाडी मर्मत गर्नुपर्ने हुन्छ’, उनले भने, ‘मर्मत गरेर साउनदेखि सञ्चालन गर्नेगरी तयारी गर्छौं।’

अम्बिकेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले सरकारले घाेषणा गरेपनि सञ्चालनका लागि अहिले नै अगाडी वढ्न नसकिने जानकारी दिए ।

पश्चिम क्षेत्रका यी दुई ठूला बस व्यवसायी प्रालिका बस रुपन्देहीदेखि प्रदेश ५ का सबैजसो जिल्ला, काठमाडौंलगायत मुख्य शहरहरुमा समेत जाने गरेका थिए।

प्रतिक्रिया दिनुहोस