तीन वर्षमा तुलसीपुरले गरेका महत्वपूर्ण कामहरु

असार २५, २०७७

बीस वर्षपछि मुलुकमा स्थानीय तहको निर्वाचन भएर जनताले हाम्रा म्यान्डेटहरुलाई अनुमोदन गरेको आज ठीक तिन वर्ष पुरा भएको छ । २०७४ साल असार २५ गते हामी यस उपमहानगरपालिका भित्र प्रवेश गर्दा हामीले गरेका प्रतिवद्धताहरुलाई मार्गदर्शकका रुपमा लिएका थियौ । यो तिन वर्ष फर्केर हेर्दा हामीले तिनै प्रतिवद्धताहरुलाई बोकेर हिडिरहेका छौं । अझै दुई वर्षसम्म पनि यसैगरी अविचलित भएर हिडिरहने हाम्रो प्रतिवद्धता जिवितै छ ।


संविधानको धारा २३२ ले संघ, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वय गरि तीन “स” मा आधारित सिद्धान्तको अंगिकार गरेको छ । यसले शासन संचालन प्रक्रियालाई सु–संस्कृत, सहिष्णु र परिणामुखी बनाउनमा सहयोग गर्ने अपेक्षा गरिएको छ । संवैधानिक व्यवस्था अनुसार संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको हुने र राज्य शक्तिको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने भन्ने संवैधानिक व्यवस्था अनुसार हामीले “खुसी जनता–समृद्ध तुलसीपुर ” “हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर” को अभियानमा छौं र तुलसीपुर उप महानगरपालिकालाई देशकै नमूना स्थानीय सरकारको रुपमा स्थापित गर्ने दुरदृष्टिका साथ हामी अगाडी बढीरहेका छौं ।

कानुन निर्माण गर्दै थिति र पद्धति बसाल्दै हामीले जनतालाई घरदैलोको सरकारको अनुभुति दिलाउन यो ३ वर्षमा जनताको विचमा रहेर सहकार्य गर्दै विभिन्न कामहरु गर्यौ । मुलुकमा तिन तहका सरकार हुँदा पनि जनताले सुखदुखमा सम्झने भनेको स्थानीय सरकार नै भएको छ । जनताको आँड भरोसाको केन्द्रका रुपमा रहेर हामीले हाम्रा कामहरुलाई प्रभावकारी ढँगबाट अगाडि वढाइरहेका छौ । तुलसीपुरलाई समृद्ध वनाउने यात्राका क्रममा जानेर नजानेर केही विचलन अवश्य पनि आएको हुन सक्छ तर हामी कहिल्यै विचलित भएका छैनौ ।

विकासका कार्यक्रमहरु कार्यान्वयन गर्ने सवालमा सधै मुलुकको कमजोर स्थानीय सरकारका रुपमा रहेको तुलसीपुरलाई हामीले अग्रणी स्थानीय सरकारका रुपमा स्थापित गर्न सफल भएका छौ । हाम्रा विकास साँझेदारहरुले योजना छनोट, अनुगमन र मूल्याङ्कनमा हाम्रो योजनावद्ध र प्रभावकारी रणनीतिका कारण हामीलाई विभिन्न सम्मान एवम् पुरस्कृत भएका छौं । यो समग्र तुलसीपुरवासीको लागि गौरवको कुरा हो हाम्रा विकास साँझेदारहरुले हाम्रो योजना सम्पन्न गर्ने प्रभावकारी कार्यशैली कै कारण हामीलाई बारम्बार सम्मान र पुरस्कृत गरिरहेको कुरा यहाँहरु सबैलाई सर्वविदितै छ ।


यस उपमहानगरपालिकाका प्रवेश गरिसकेपछि हामीले सिंगो मुलुकले अनुसरण गर्ने खालका केहि योजना र कार्यक्रमहरु अगाडी वढाएका छौं । आज हामीले वनाएको नीति र कार्यक्रम समग्र राष्ट्रका लागि सिक्ने माध्यम वनेको छ । कोभिड १९ को संक्रमणका क्रममा संक्रमितको संख्या वढ्न नदिन मात्रै होइन कोही भोकै नरहुन् भन्नका लागि समेत हामीले विभिन्न योजनाहरु अगाडि वढायौ । जुन सबैका लागि प्रशंसाको काम वनेको छ ।


क्वारेन्टाइन व्यवस्थापनमा हामीले अपनाएको सावधानीका कारण आज कोरोना संक्रमणको डरलाग्दो ग्राफ हेर्नुपर्ने अवस्था सृजना भएको छैन । नगरविकास कोषबाट मुलुककै उत्कृष्ट उपमहानगरपालिकाका रुपमा पुरस्कृत हुनुका साथै राष्ट्रिय युवा परिषद्बबाट प्रदेश पाँचको उत्कष्ट युवामैत्री पुरस्कार पाउनुले हाम्रा कामहरुको प्रतिविम्ब दिन्छ ।


पहिलो वर्ष हाम्रा लागि सिकाइ तथा योजना निर्माणको वर्ष थियो, दोस्रो वर्षमा हामीले तुलसीपुरको समृद्धिको आधार खडा गर्यौ । तेस्रो वर्षलाई हामीले सडक वर्षका रुपमा १९ वटै वडामा गुणस्तरिय सडक पु¥यायौँ । यो तीन वर्षका विचमा हामीले गरेका विशेष कामहरुलाई यो विशेष कार्यक्रममा प्रस्तुत गर्न चाहन्छु ।

(१) एकाएक विश्वलाई नै समस्यामा पार्ने गरी आएको कोभिड १९ को महामारीलाई हामीसँग उपलब्ध सिमित स्रोत र साधनका बाबजुद पनि आइसोलेसन, क्वारेन्टाइन निर्माण र अलपत्र अवस्थामा देश तथा विदेशमा रहेका नागरीकहरुलाई घरसम्म ल्याउनुका साथै रोजगारी गुमेर घरको चुलो नबल्नेहरुको चुलो बाल्नमा हामी सफल भयौ । यस बीचमा हामीले १० हजार भन्दा बढी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्नुका साथै ८ सय ४१ बढीलाई श्रम बैक मार्फत काम दिएर खाद्यान्न वितरण गरिसकेका छौ । त्यस्तै १ हजार २ सय ४८ को पिसिआर र ३ सय १९ को आरडिटि टेस्ट भएकोमा ४९ जनाको रिपोर्ट पोजेटिभ भएको छ । यसैगरी हामीले वनाएका १२ वटा क्वारेन्टाइनमा अहिलेसम्म १ हजार ५ सय ६४ जना वसेको तथ्यांक रहेको छ । यसमा आफुखुसीले १२ जना पेइङ्ग क्वारेन्टाइनमा समेत वसेका छन् ।

(२) जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा हामीले तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारलाई यो आर्थिक वर्षबाट अगाडी वढायौ । चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको छ । आगामी वर्ष यसले सडक पूर्वाधार बाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्नेछ । प्राधिकरणले सिमित स्रोत र साधनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सोचलाई मुर्तता दिएको छ । यस बीचमा हामीले प्राधिकरणका लागि ग्रेडर १ थान, स्काभेटर १ थान, रोलर २ थान, जेसिबी २ थान, टिप्पर २ वटा, मिक्स्चर मेसिन २ थान, टे«क्टर २ थान सामग्री जोडिसेका छौ ।

(३) तुलसीपुरको पहिचान र गौरबका रुपमा यो तीन वर्षमा हामीले केही विशेष योजनाहरु सम्पन्न गर्यौ भने केही सम्पन्न गर्ने अवस्थामा रहेका छौ । हामीले प्रतिवद्धता गरे अनुसार तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय ( मेट्रो कलेज) लगायतका वृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेका छौ । तुलसीपुरको पहिचानका रुपमा तुलसी टे«ड टावरको डिपिआर समेत भएर नगर विकास कोषबाट ऋण स्वीकृत हुने चरणमा रहेको छ ।

(४) तुलसीपुर उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर वनाउने अभियान अन्र्तगत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रम मार्फत हालसम्म करिव ८ सय घर खरको छानोमुक्त भइसकेको छ भने अन्य ७ सय ५० घरका लागि टेण्डर प्रक्रिया भइ जस्तापाता खरिद भइसकेको छ । कोभिड १९ का कारण भएको लकडाउनले गर्दा जस्तापाताको टेण्डरमा ढिला प्राप्त भएकोले अहिले वितरणको काम अगाडी वढिरहेको छ ।

(५) राहत वितरण र खाद्य बैकका लागि खाद्यान्न लगायतका सामग्री खरीदमा ६६ लाख ४८ हजार ५ सय ६६ रुपैया, स्वास्थ्य सामग्री र औषधि खरिदमा ११ लाख ३४ हजार १ सय ८, अलपत्र नागरिकहरुको उद्दारका लागि गाडी भाडामा २ लाख, ६२ हजार ९ सय १५ र क्वारेन्टाइन स्थापना, सन्चालन र व्यवस्थापनका लािग ६६ लाख ३० हजार ९ सय १८ खर्च भएको छ । यो क्रम अझै पनि निरन्तर चलिरहेको छ ।

(६) मातृशिशु मृत्युदर कम गर्नका लागि मुलुककै पहिलो उपमहानगरपालिकाका रुपमा यस उपमहानगरपालिकाले वितरण गरेको मातृशिशु सुरक्षा सुत्केरी भत्ता अहिलेसम्म ३ हजार ५ सय जनाले पाइसकेका छन् र यो कार्यक्रम निरन्तर चलिरहेको छ । सुत्केरी भत्ता वितरणको प्रतिफलका रुपमा अहिले यस उपमहानगरपालिकाको मातृ मृत्युदर शुन्यमा झरेको छ ।

(७) तुलसीपुर उपमहानगरपालिकाको दीर्घकालिन सोच सहितको गुरुयोजना, एकिकृत शहरी विकास योजना, भू उपयोग नीति तथा योजना, मापदण्ड सहितको सडक तथा यातायात गुरुयोजना, स्पोर्ट सिटी योजना,स्मार्ट सिटी योजना, पर्यटन गुरु योजना, आर्थिक तथा उद्यमविकास योजना लगायत विभिन्न क्षेत्रगत योजनाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले यी सबै गुरुयोजनाहरु र तिनलाई कार्यान्वयन गर्न आवश्यक सहयोगी नीति र कानुन तर्जुमा गरी आगामी आर्थिक वर्ष देखि नै लागू गर्दैछौ ।

(८) दाङ्गको गौरबका रुपमा रहेको ऐतिहासिक टरिगाउँ विमानस्थल नियमितरुपमा सञ्चालनमा आएर दैनिक दुइवटा उडान भर्नका लागि सक्षम भएको छ । यसका अतिरिक्त विमानस्थलका पूर्वाधारहरु टर्मिनल भवन लगायतका निर्माण भइरहेका छन् । यस विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको पाइलट कोर्सको अध्ययनको लागि सम्भावना अध्ययनको कार्य सम्पन्न भएको छ ।

(९) उज्यालो तुलसीपुर अन्तर्गत राप्ती आँखा अस्पतालसँगको सहकार्यमा यस क्षेत्रका १ सय ३० जनाको मोतियाविन्दुको निशुल्न अपरेसन गरिएको छ ।

(१०) तुलसीपुरलाई शिक्षाको हव बनाउन ८३ वटा सामुदायिक विद्यालयलाई ५ वर्षको अन्तरालमा कम्तिमा ३० वटा नमुना विद्यालय बनाइ सुविधा सम्पन्न र गुणस्तरिय नमुना विद्यालय बनाउने प्रयास स्वरुप यस ०७६ शैक्षिक सत्रदेखि १३ वटा प्रा.विलाई वाल विकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको र पहुँच र दुरी नविग्रने गरी यो वर्ष पनि केही विद्यालयहरुलाई स्थगन गरिएको छ ।

(११) तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्नका लागि प्राविधिक शिक्षा सञ्चालन गर्ने यहाँका ९ वटा विद्यालयलाई प्रति विद्यालय १० लाखका दरले अनुदान दिइएको छ । प्राविधिक शिक्षाका लागि ठाउँ नै छाड्नुपर्ने र महँगो पैसा तिर्नुपर्ने अवस्थाको अन्त भएको छ ।

(१२) जनतालाई सहजै न्यायको पहुँच र प्रत्याभुति दिलाउनका लागि हामीले यो तिन वर्षमा २ सय ६४ वटा विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता गरेर केही फच्र्यौट गरेका छौ । जसमा ३९ वटा मुद्दाहरु प्रक्रियामा रहेका छन् । जनताका साना साना विवादका कुराहरुलाई पनि समाधान गरेर हामीले न्यायालयको अनुभुति गरेका छौं ।


(१३) एक वडा एक खेल मैदान अन्तर्गत उपमहानगरपालिकाका १९ वटै वडाहरुमा विभिन्न खेलका मैदान निर्माण गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । संघ सरकारको सहयोगमा बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका साथै प्रदेश सरकारको सहयोगमा वडा नम्वर १ मा राष्ट्रियस्तरको रंगशाला निर्माण भएको छ ।

(१४) जनतालाई घरदैलोमा प्रभावकारी सेवा प्रदान गर्नका लागि हामीले पहिलो वर्षमा गरेको तयारी स्वरुप दोस्रो वर्षबाट वडाबाटै अनलाईनमार्फत कर वुझ्नुका साथै घटनादर्ता समेत प्रभावकारी ढँगले अगाडी वढाइ रहेका छौ । अनलाईन मार्फत वडाबाट काम सञ्चालन गर्ने तुलसीपुर यहाँको पहिलो स्थानीय सरकार भएको समेत जानकारी गराउँन चाहन्छु ।

(१५) समृद्ध वडा, सक्षम जनशक्ति भन्ने नीति अनुसार तुलसीपुर उपमहानगरपालिकालाई दक्ष जनशक्तिले सुसम्पन्न बनाएर तिव्र र गुणस्तरिय सेवा प्रदान गर्नका लागि हरेक वडामा अधिकृतस्तरको वडा प्रमुख, इन्जिनियर, सब इन्जिनियर र अमिन लगायतका कर्मचारीको व्यवस्था गरिएको छ । यसले जनताको काम छिटो, छरितो, गुणस्तरिय र सरल ढँगले अगाडि वढिरहेकोे छ ।

(१६) यस उपमहानगरपालिका भित्रका २ सय कृषकलाई कृषक परिचय पत्र वितरण र उत्कृष्ट कृषक सम्मानको प्रक्रिया थालनी गर्यौ । साथै आगामी वर्षमा ब्यावसायिक कृषकहरुलाई पोशाक वितरण गर्नेछौ । कृषि उत्पादन वृद्धि गर्न र युवाहरुलाई समेत कृषि पेशातर्फ आकर्षित गर्नका लागि धान, मकै जस्ता खाद्य बालीमा अनुदान दिनुका साथै करार खेति गर्नेको जग्गा भाडा तिरिदिने, प्लाष्टिक टनेल वितरण र वन्द अवस्थामा रहेका डिप बोरिङ्गहरुको सञ्चालन गर्यौ ।

(१७) जनताको आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेषज्ञ चिकित्सक सहितको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र, ११ वटा नगरस्वास्थ्य केन्द्र तथा ६ वटा चौविस घण्टे प्रसुति सेवा केन्द्र, ८ वटा प्रयोगशाला सहित १९ वटै वडामा गुणस्तरिय स्वास्थ्य सेवाको पहुँच वृद्धि गरेका छौं । यसका अतिरिक्त ज्येष्ठ नागरिक, गर्भवती महिला लाई पचास प्रतिशत छुट सहित ३ वटा एम्बुलेन्स विकट वडाबाट सञ्चालन गरिरहेका छौ ।

(१८) तुलसीपुर उपमहानगरपालिकामा असल तथा जनमुखी शासन स्थपना गर्न र नगरवासीलाई गुणस्तरीय सेवा प्रवाहमा सहजता ल्याउन १९ वटा ऐन र ६१ वटा नियमावली, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु निर्माण गरी कार्यान्वयन गरिएको छ ।

(१९) तुलसीपुर उपमहानगरपालिकाले सुरुवात गरेको श्रम बैक, विद्यालय समायोजन, स्यानीटरी प्याड वितरण, सुरक्षित आवास (खरको छानो विस्थापन गरेर जस्ता पाता लगाउनको कार्य) , पूर्वाधार विकास प्राधिकरण जस्ता असल अभ्यास र नीतिहरु संघ, प्रदेश र अन्य स्थानीय तहले समेत अनुसरण गरेका छन् ।

(२०) राप्ती आँखा अस्पताल, राप्ती बबई क्याम्पस, तुलसीपुर ब्लड बैक, राप्ती प्रादेशिक अस्पताल लगायत यस क्षेत्रका विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थाहरुको स्तर र सेवा वृद्धि र प्रभावकारीताका लागि भौतिक संरचना निर्माण लगायतको काममा प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न कामहरु अगाडि वढाइएको छ ।

(२१) ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरणदेखि घरैम स्वास्थ्य परिक्षण लगायतका नमुना कामहरु ग¥यौ । ज्येष्ठ नागरिकलाई तिर्थ यात्रामा लैजाने हाम्रो तयारी लकडाउनका कारणले सम्भव हुन सकेन । आगामी वर्षहरुमा पनि यस्ता कामहरुलाई निरन्तरता दिदै जानेछौ ।

(२२) तुलसीपुरको नगर अस्पतालका रुपमा वडा नम्वर ८ अस्वारामा रहेको भिमसेन स्वास्थ्य केन्द्रबाट एमविविएस डाक्टर सहितको चिकित्सक सेवा प्रदान गरिदै आएको छ भने भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

(२३) वडा नम्बर १,२, १६ को वडा भवन निर्माण हुनुका साथै वडा नम्वर १४ र १८ मा वडा कार्यालय भवन निर्माणको क्रममा रहेको छ । उपमहानगरपालिकाको प्रशासनिक भवनको टेण्डर समेत भइसकेको छ ।

(२४) तुलसीपुर उपमहानगरपालिकाको भमके खोला, पातुखोला,राता पहरा, कालाखोला, गहते खोला, बबई नदि, चौवा खोला, सक्राम खोला र गुहारखोलाका शवदाहस्थलहरुमा सोलार वत्ति जडानको काम पुरा भएको छ ।

(२५) तुलसीपुर उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई यातायात सञ्जालले जोड्ने र सडकका दायाँवाँया वस्तिहरुलाई एकिकृत गर्दै जाने सोच अनुरुप ५ नम्वर प्रदेशको प्रदेश सरकारसँग सहयोगमा चक्रपथ निर्माण कार्य निरन्तर रुपमा सञ्चालनमा रहेको छ । गतवर्षदेखि सुरु भएको चक्रपथ निर्माण कार्य यस वर्ष प्रदेश सरकारको ३ करोड सहयोगमा यसै वर्ष सक्ने गरीराजापुरदेखि राप्ती शान्ती उद्यानसम्म कालोपत्रे गर्ने काम सुरु भएको छ ।

(२६) उपमहानगरपालिका अन्तर्गत १९ वटै वडाहरुले सञ्चालन गरेका वडा गौरबका योजनाहरुले तिन वर्षमा निरन्तरता पाइरहेका छन् । आगामी दिनमा पनि वडाले गौरब गर्ने अन्य योजनाहरुलाई अगाडी वढाउन का लागि हामी जनप्रतिनिधि प्रतिवद्ध रहेको जानकारी गराउँदछु ।

प्रतिक्रिया दिनुहोस