स्थानीय तहसँग कोरोना परीक्षण शुल्क लिए कारबाही गरिने: स्वास्थ्य मन्त्रालय

असार २४, २०७७

केही दिनदेखि दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहबाट प्रतिस्वाब ५ हजार ५ सय रुपैयाँ शुल्क लिन थालेको छ।

काठमाडौँ– सरकारले स्थानीय तहसँग पीसीआर परीक्षणका लागि शुल्क नलिन स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई चेतावनी दिएको छ।

केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरेबापत शुल्क उठाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क उठाउने प्रतिष्ठानहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च सरकारले व्यहोर्ने भएकोले स्थानीय तहबाट पैसा नउठाउन प्रतिष्ठानहरुसँग आग्रह गरे।

पछिल्लो समय केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले स्थानीय तहबाट पीसीआर परिक्षणका लागि शुल्क उठाउन थालेका छन्।

केही दिनदेखि दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहबाट प्रतिस्वाब ५ हजार ५ सय रुपैयाँ शुल्क लिन थालेको छ। प्रतिष्ठानले असार १८ गते  दाङको गढवा गाउँपालिकाले संकलन गरेर पठाएको स्वाब शुल्क तिरेपछि मात्रै बुझ्ने भन्दै फिर्ता पठाएको थियो।

प्रतिष्ठानले शुल्क मागेपछि गाउँपालिकाले उक्त स्वाब परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस