ओलीको पक्षमा घोराहीमा बृहत प्रदर्शन

असार २४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नहुने भन्दै घोराहीमा प्रदर्शन गरिएको छ। राष्ट्रियता र जनजीविका सवालमा स्पष्ट अडान लिने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई हटाउन खोजिएको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले बुधबार घोराहीमा प्रदर्शन गरेका हुन्।

उनीहरूले जनताले पाँच वर्षका लागि ओलीलाई सरकार सञ्चालनको जिम्मा दिएपनि केही व्यक्तिहरू विदेशीको प्रलोभनमा परेर जनताको म्याण्डेटलाई विर्सिएर प्रधानमन्त्रीलाई हटाउन खोजेको बताएका थिए।  केपी शर्मा ओलीलाई हटाउन खोजिएको भन्दै स्वतन्त्र युवा विद्यार्थी अभियानको नाममा विरोध प्रदर्शन गरिएको हो। ओलीको समर्थनमा भएको कार्यक्रममा नेकपाभित्रको पूर्व एमाले खेमाका नेता तथा कार्यकर्तासँगै जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

घोराहीको शहिदगेटबाट सुरु भएको विरोध-याली नेपाल बैंकरोड,दामोदरचोक हुँदै तुलसीपुरचोक आएर सकिएको थियो। प्रदर्शनकारीले ‘आजलाई होइन भोलीलाई, हाम्रो समर्थन ओलीलाई’, ‘देशको मुहार फेर्नु छ साथी,पार्टी भन्दा राष्ट्रमाथि’,‘आई एम विथ केपी ओली’, ‘नागरिकता विधेयक पारित गर’ भन्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए।

विरोध-याली पछि भएको कोणसभालाई सम्वोधन गर्ने व्यक्तिहरूले राष्ट्रिय र जनजीविको सवालमा स्पष्ट अडान लिने प्रधानमन्त्री केपी शर्मालाई हटाउन खोज्नु दुभाग्य भएको बताएका थिए। कार्यक्रमलाई बाम बुद्धिजीवी नेमकुमार न्यौपानेले जनताले केपी शर्माको नेतृत्वको पार्टीलाई विश्वास गरेर ५ बर्ष सरकार सञ्चालनका लागि भोट दिएपनि अहिले पार्टीभित्रैबाट हटाउन खेल भएको आरोप लगाएका थिए। उनले यो खेल जनताको भावनामाथि खेलवाड भएको भन्दै नेताहरूलाई सच्चिन समेत आग्रह गरे। 

‘जनताले केपी नेतृत्वको पार्टीलाई विश्वास गरेर ५ बर्ष सरकार सञ्चालनको जिम्मेवारी दिएका हुन, त्यो कसैले भुल्न हुदैन,’न्यौपानेले भने, ‘जनताको भावनालाई नेताहरूले बुझ्नुपर्छ, ओलीको राजिनामा माग्नेहरू सच्चिनुपर्छ।’ उनले प्रधानमन्त्री ओलीले गुमेको भुमिलाई फिर्ता ल्याएकै कारण भारत अहिले प्रधानमन्त्रीलाई हटाउन लागि परेको भन्दै त्यसकै जालमा नेकपाकै नेताहरू परेको बताएका थिए।

त्यस्तै कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले विदेशी हस्तक्षेपलाई बढाउने काम नगर्न दलहरूलाई आग्रह गरेका थिए।  मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माले राष्ट्रियताको रक्षा र जनजीविको पक्षमा काम गरेर लोकप्रिय कमाएको सरकारलाई हटाउन खोज्नु दुखद् भएको बताए। 

प्रतिक्रिया दिनुहोस