देशका अधिकांश भागमा वर्षा, सतर्कता अपनाउन आग्रह

असार २२, २०७७

आज बिहानैदेखि देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं आसपासका साथै विराटनगर, पोखरा आसपासमा पानी धेरै परेको छ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी परिरहेको र राति पनि वर्षा अझै बढ्ने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

विभागका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानहरुमा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

पानीसँगै ती स्थानहरुमा मेघगर्जन र चट्याङसमेत पर्ने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । राति पनि अधिकांश भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षा हुने प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत चौबीस घण्टामा विभिन्न ठाउँमा पहिरो जाँदा एक जनाको मृत्यु र ५ घाइते भएका छन्।

डोटीको पूर्वचौकी गाउँपालिका ४ मा गएको पहिरोले घर पुर्दा चारमहीने बाालकको मृत्यु भएको छ । डोटीलगायत अन्य गरी ११ ठाउँमा पहिरोमा परी ५ जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस