गतिलो आम्दानीको स्रोत बन्यो टिमुर खेती

असार २२, २०७७

टिमुरकाे बाेट लगाउँदै स्थानीय महिला


बसन्त आचार्य

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ प्रतापकोटका मानबहादुर वलीको पाखो बारी त्यसै खेर गएको थियो । वर्षदिनमा मुस्किलले वस्तुभाउँलाई सातादिन पुग्ने घाँसभन्दा त्यसबाट कुनै पनि उत्पादन थिएन बरु पाखोबारीमा भुक्षय हुने डर मात्रै थियो ।


पारिवारीक निजी वन संघ नेपालले टिमुर खेतीका लागि उत्प्रेरित गरेपछि अहिले उनको पाँखाभरी टिमुरका बोटमा टिमुरका झुप्पा फलेका छन् । “एउटा रुखमा सुकेको ३ किलोसम्म फल्ने गरेको छ ” उनले टिमुरको बजार मुल्य राम्रो हुनुका साथै विक्री पनि सहजै हुने गरेको वताए । “न केही दुख न त विक्री नहुने तनाव नै, साह्रै राम्रो भएको छ ” उनले खुसी व्यक्त गरे ।


बाेटमा फलेका टिमुर

टिमुर खेतिका लागि वडा नम्वर ३ को नाउँला, वल्ले, कल्ले, थापापानी र प्रतापकोटलाई उपयुक्त मानिन्छ । पारिवारीक निजी वनले त्यहाँको हावापानी सुहाउँदो हुने भएकाले किसानहरुलाई टिमुर खेतितर्फ आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । एकाध घरमा मात्रै घरायसी प्रयोगका लागि हुने टिमुर खेति अहिले व्यवसायिक प्रयोजनका लागि घर घर मै रोपेको देख्न सकिन्छ ।


वडा नम्वर ३ कै थापापानीका चसराम बुढाले १ सय ५० वटा टिमुरका बोट लगाएका छन् । पहिले लगायका केही बोटले आम्दानी समेत दिन थालेका छन् । एक किलो टिमुर ८ देखि १२ सयसम्म विक्री हुने गरेको समेत उनले वताए । “एउटै बोटबाट ३ हजारसम्म आम्दानी हुन्छ, अहिले २५ बोटले वर्षमा ७० हजार जति आम्दानी दिने गरेका छन् ” उनले खुसी व्यक्त गरे । सबै बोटले आम्दानी दिन थाले वर्षमा ५ लाख जति कमाइ हुने समेत उनले वताए । “यसका लागि छुट्टै समय दिनु परेन राम्रो छ ” बुढाले अनुभव सुनाए ।

टिमुरका बाेट लगाउँदै

सोही ठाउँका जितवहादुर घर्तीले टिमुर खेतिबाटै परिवारका आवश्यकता मात्रै होइन गाह्रो साह्रो पर्दाका लागि भनेर वचत समेत गरेका छन् । “यहाँ केही पनि उब्जनी नहुने भएकाले कामका लागि बजार झर्नुपथ्र्यो तर टिमुर खेती गर्न थालेपछि बजार जाने समस्या टरेको छ ” उनले भने । टिमुरले उनको उजाँड पाखो हराभरा मात्रै भएको छैन जीवन पनि हराभरा भएको छ । टिमुर लिन घरसम्मै व्यापारी आउने गरेको पनि बताए । “केही पनि नहुने पहाडमा टिमुर खेति आम्दानीको स्रोत भएको छ ” वडाका निर्वाचित सदस्य समेत रहेका घर्तीले भने ।


टिमुर खेतिमा दुःख कम हुनुका साथै फाइदा पनि मनग्गे हुने भएकाले किसानहरुलाई यसतर्फ प्रेरित गरेको पारिवारीक निजी वनका केन्द्रीय उपाध्यक्ष मेघराज भुसालले जानकारी दिए । उनले किसानहरुलाई निःशुल्क विरुवा वितरण गर्नुका साथै विभिन्न प्राविधिक सहयोग समेत गर्ने गरेको बताए । “टिमुर उत्पादन उत्पादन नहुँदासम्म हामीले सबैखाले आवश्यक सहयोग गर्ने गर्दछौ” उपाध्यक्ष भुसालले जानकारी दिए ।

स्कुलकाे पाखामा टिमुरकाे बाेट लगाउँदै


यसैवर्ष संघले सो क्षेत्रमा १५ हजार टिमुरका विरुवा लगाउनका लागि किसानलाई विरुवा वितरण गरेको जिल्ला अध्यक्ष पदम केसीले जानकारी दिए । १ सय ५० घरधुरीका लागि ६ वटा समुहलाई वितरण गरिएको उनले वताए ।

प्रतिक्रिया दिनुहोस