जसलाइ काेराेनाकालमा बलिउडले गुमायाे

असार २१, २०७७

काठमाडौं । बलिउडका लागि २०२० एक नमिठो वर्ष बनेर आएको छ । वर्षको सुरुवातदेखि महामारीका रूपमा फैलिएको कोरोना भाइरस र यसलाई नियन्त्रणका लागि अपनाइएको लकडाउनको समयमा बलिउड र यसका दर्शकले एकपछि अर्को गर्दै दुःखमा भागिदार बन्न बाध्य भइरहेका छन् ।

भारत सरकारले मार्च २४ देखि देशव्यापी लकडाउनको घोषणा गरेको थियो । 

जारी लकडाउनका कारण ठूला बजेटका चलचित्रहरू विस्तारै डिजिटल रिलिज गर्न बाध्य भइरहेका छन् । भने कति ठूला चलचित्रहरूको छायांकन स्थगित भएका कारण करोडौं खर्च गरेर बनाएका सेटहरू भत्काउन बाध्य भएका छन् ।

करोडौंको आर्थिक क्षति व्यहोरिरहेको बलिउडले यो लकडाउनको अवधिमा एकपछि अर्को गर्दै उल्लेख्य मृत्युहरूको साक्षी पनि बनिरहनु परेको छ । लकडाउनको ३ महिनाको यो अवधिमा बलिउडले आफ्ना केही दिग्गज अनि राम्रा कलाकार, संगीतकार, कोरियोग्राफर गुमाइसकेको छ ।

बलिउडले यो महामारीको कहरबीच गुमाएका केही चर्चित सेलिब्रेटीहरू :

इरफान खान

पद्मश्री पुरस्कार विजेता र बलिउडका उत्कृष्ट प्रतिभामध्येका एक, अभिनेता इरफान खानको अप्रिल २९ मा निधन भयो । आमा सइदा बेगमको निधनको ४ दिनपछि नै इरफानले पनि संसार छोडेका थिए । 

पछिल्लो २ वर्षदेखि क्यान्सरसँग जुझिरहेका इरफान खानलाई पछिल्लो समय कोलोन इन्फेक्सन भएको थियो । अप्रिल २८ मा कोलोन इन्फेक्सनका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

इरफानले २०१८ मार्चमा आफूलाई न्यूरोएन्ड्रोक्रिम ट्युमर भएको पुष्टि गरेका थिए । तर, उपचारपश्चात् उनी पुन अभिनयमै फर्किए । हिट चलचित्र ‘अंग्रेजी मिडियम’ उनको त्यसपछिको चलचित्र हो । जुन इरफानको अन्तिम चलचित्र बन्न पुग्यो ।

हालका वर्षहरूमा विश्वव्यापी फिल्म उद्योगले देखेका सर्वश्रेष्ठ कलाकारमध्ये एक इरफानको निधनको खबरले भारतीयदेखि अन्तर्राष्ट्रिय मिडियामा विशेष स्थान पाएको थियो । उनको ‘स्लमडग मिलिनियर’, ‘लाइफ अफ पाई’ र जुरासिकपार्क’ अन्तर्राष्ट्रिय चर्चित चलचित्रहरू हुन् । 

टेलिभिजन पर्दाबाट अभिनय यात्रा सुरु गरेका उनले बलिउडदेखि हलिउडसम्म पनि आफ्नो अब्बल अभिनय क्षमताको झन्डा गाड्न सफल बनेका थिए । ‘स्लमडग मिलिनियर’, ‘लाइफ अफ पाई’ र जुरासिकपार्क’ उनलाई अन्तर्राष्ट्रिय अभिनेताको परिचय दिलाएका चलचित्रहरू हुन् । 

अभिनयको करिब ३० वर्ष लामो यात्रामा इरफानले ५० भन्दा बढी हिन्दी, ब्रिटिस र हलिउड चलचित्रमा अभिनय गरेका थिए । ‘लाइफ इन अ मेट्रो’, ‘द लन्चबक्स’, ‘हैदर’ ‘पिकु’, ‘हिन्दी मिडियम’ उनका चर्चित बलिउड चलचित्र हुन् । 

ऋषि कपुर

अभिनेता इरफान खानको निधनको शोकमा विच्छिप्त बलिउडले दुई दिनपछि अर्का एक दिग्गज कलाकारलाई गुमाएको थियो । इरफान खानको निधनको दुई दिनपछि (अप्रिल ३०) अभिनेता ऋषि कपुरको निधन भएको हो ।

६७ वर्षीय कपुरको मुम्बाईको रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको थियो । अभिनेता ऋषि कपुर पनि पछिल्लो केही वर्षदेखि क्यानसरसँग लडिरहेका थिए ।

सन् १९७३ देखि अभिनय यात्रामा प्रवेश गरेका उनले सन् २००० सम्म ३६ वटा हिट चलचित्र दिएका थिए भने उनले जम्मा ९२ वटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका थिए । 

अभिनेता कपुरको निधनले भारतीयदेखि अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा विशेष स्थान पाएको थियो । ऋषि कपुर अभिनित अन्तिम चलचित्र ‘शर्माजी नमकिन’ रिलिज हुन बाँकी नै रहेको छ ।

वाजिद खान

बलिउड गायक तथा संगीतकार वाजिद खानको जुन १ मा निधन भएको थियो । ४७ वर्षीय वाजिदको हृदयघातका कारण निधन भएको हो । सुराणा सेठिया अस्पतालमा घाँटीको इन्फेक्सनको उपचारका क्रममा उनको निधन भएको थियो ।

वाजिदको गत वर्षमात्रै मृगौला प्रत्यारोपण भएको थियो । भारतीय मिडियाका अनुसार मृत्युको केहीदिन अघिमात्रै वाजिदमा कोरोना पुष्टि भएको थियो ।

सलमान खानको ‘प्यार किया तो डरना क्या’ बाट चर्चामा आएका वाजिदको अन्तिम काम पनि सलमानसँगकै सहकार्यमा भएको थियो । लकडाउनमै तयार भएको सलमानको गीत ‘भाइ भाइ’ वाजिदको अन्तिम कम्पोजर बन्यो । 

वाजिदको चर्चित कम्पोजरमध्ये सलमान अभिनित चलचित्र वान्टेडबाट ‘मेरा ही जल्वा’ र दबंग २ बाट ‘फेबिकोल से’का साथै अक्षय अभिनित राउडी राठौरबाट ‘चिन्ता ता चिता चिता’ रहेका छन् । बलिउडमा वाजिद उनका भाइ र आफ्नो नाम साजिदवाजिदको नामबाट परिचित थिए । 

सुशान्त सिंह राजपुत

एकपछि अर्को परिवार गुमाएको शोकबाट विस्तारै बाहिर निस्किरहेको बलिउड र बलिउड प्रेमीलाई १४ जुनले पुनः शोकमा डुबायो । चर्चित अभिनेता सुशान्त सिंह राजपुतले बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आत्महत्या गरे ।

टेलिभिजनको पर्दाबाट अभिनय यात्रा सुरु गरेका सुशान्तले छोटो समयमै बलिउडमा आफ्नो अभिनय र नम्र व्यवहारले सफल अभिनेताको प्रशस्ती कमाइ सकेका थिए । पछिल्लो ६ महिनादेखि डिप्रेसनको औषधि खाइरहेका उनको अन्ततः मृत्युको कारण पनि डिप्रेसन नै बन्यो । 

सुशान्तको आत्महत्याले बलिउड र सामाजिक सञ्जालमा ठूलै उथलपुथल ल्यायो । सुशान्तको आत्महत्याले बलिउडमा पुनः एकपटक नेपोटिजमको विषयमा बहस चल्यो । भने यसकै कारण केही निर्माता, निर्देशक पनि सामाजिक सञ्जालमा ट्रोलको सिकार बन्न पुगे ।

ब्याकअप डान्सरका रूपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका सुशान्तले ‘किस देश मे है मेरा दिल’बाट टेलिभिजन शृङ्खलमा ब्रेक पाएका थिए । भने उनलाई अर्को शृङ्खला ‘पवित्र रिश्ता’ले बलिउड प्रवेशको बाटो खोलिदिएको थियो । सुशान्तलाई बलिउडमा ब्रेक दिने चलचित्र ‘काई पो चे’ थियो । 

‘डिटेक्टिभ ब्योमकेश बक्सी’, ‘एमएस धोनीः द अन्टोल्ड स्टोरी’, ‘छिछोरे’, ‘केदारनाथ’, ‘शुद्ध देसी रोमान्स’ सुशान्तको मुख्य भूमिका रहेका हिट चलचित्रहरू हुन् । सुशान्त अभिनित अन्तिम चलचित्र ‘दिल बेचारा’ यही जुलाई २४ मा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुँदैछ ।

सुशान्तको आत्महत्याको रहस्य पत्ता लगाउन प्रहरी अझै अनुसन्धानमै छ । 

सरोज खान

बलिउडले शुक्रबार जुलाई ३ मा फेरि अर्का एक हस्ती गुमायो । बलिउडका चर्चित कोरियाग्राफर सरोज खानको ७१ वर्षमा निधन भयो । उनको हृदयघातका कारण निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएका कारण पछिल्लो केही दिनदेखि अस्पतालमा रहेकी उनको उपचारका क्रममा निधन भएको होे । 

बाल कलाकारका रूपमा बलिउड प्रवेश गरेकी सरोजले सन् १९५० को दशकमा विमल रोयको मधुमति चलचित्रबाट बी. सोहनलको नृत्य निर्देशनमा ब्याकग्राउन्ड डान्सरका रूपमा प्रवेश गरेकी थिइन् ।

त्यसपश्चात् उनले सहायक कोरियोग्राफरका रूपमा काम गर्न थालिन् । भने चलचित्र ‘गीता मेरा नाम’ बाट स्वतन्त्र कोरियाग्राफरका रूपमा पहिलो ब्रेक पाएकी थिइन् । उनले मिस्टर इन्डिया चलचित्रको ‘हवा हवाई’ गीतबाट चर्चाको पहिलो खुड्किलो टेकेकी थिइन् ।

उनको कोरियोग्राफीमा ननाचेका बलिउड कलाकारहरू सम्भवत छैनन् होला । तर, पनि माधुरीसँगको सहकार्यले सरोज र माधुरी दुवैलाई करियरको उचाइमा पु¥याउन थप मद्दत पुगेको थियो ।

माधुरी र सरोजको सहकार्यमा चर्चा कमाएका केही गीतमध्ये तेजाब चलचित्रबाट ‘एक दो तीन’, चलचित्र थानेदारबाट ‘तम्मा तम्मा लोगे’, चलचित्र सैलाबबाट ‘हाम को आज कल है इन्तजार’ र चलचित्र बेटाबाट ‘धक धक करने लगा’ रहेका छन् । 

यी चर्चित व्यक्तित्वहरूसँगै लकडाउनको यो ३ महिनाको समयावधिभित्र बलिउडले गुमाएका आफ्ना परिवार सदस्यहरूमध्ये गीतकार सागर, अभिनेता साई गुंडेवार, निर्देशक बासु चटर्जी, अभिनेता मोहित बघेल, निर्माता अनिल सुरी लगायतका कलाकारहरू गुमाइसकेका छन् । 
(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस