दाङ्गका तीन पालिकाले स्वाब नेपालगञ्ज पठाए

असार १, २०७७


तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहको स्वाब परीक्षणका लागि शुल्क मागेपछि जिल्लाका तिन पालिकाहरुले स्वाब नेपालगञ्ज पठाएका छन् ।


संघीय र प्रदेश सरकारको सहयोगमा पिसिआर मेसिन राखेर प्रतिष्ठानमा स्वाब परिक्षण हुँदै आएको थियो । प्रतिष्ठानले आर्थिक कारण देखाउँदै निशुल्क स्वाब परिक्षण गर्न नमानेपछि यहाँका १० वटै पालिकाहरुले विकल्प खोजेका हुन् ।

पालिकाहरुले नेपालगञ्ज, भैरहवा र काठमाडौमा स्वाब पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले परिक्षण गर्न नमानेका तुलसीपुर उपमहानगरपालिकाका १ सय ७९, बबई गाउँपालिकाका ५३ र शान्तिनगर गाउँपालिकाका ३६ जनाको स्वाब नेपालगञ्ज पठाइएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।

दाङ्गका अन्य पालिकाहरुले पनि स्वाब संकलन गरेर बाहिर पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले संकटको समयमा पैसाको कारण देखाउँदै स्वाब परिक्षण रोकेपछि सर्वत्र आलोचना हुँदै आएको छ ।तुलसीपुर उपमहानगरपालिकाले अन्तिम समयमा स्वाब परीक्षण रोकिएपछि काठमाडौ पठाउने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस